मोरङ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) उर्लाबारी नगर समितिको दोस्रो नगर अधिवेशनले उर्लाबारीको राजनीतिक वातावरणमा तातो सरगर्मी ल्याएको छ। शनिबार उर्लाबारी–५ स्थित पूर्वाञ्चल बौद्ध गुम्बाको सभाहलमा हुने अधिवेशनमा अध्यक्ष पदका लागि तीन जना उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ।
अध्यक्ष पदमा देवीप्रसाद दाहाल, जनक खड्का र प्रतिक आचार्यले उम्मेदवारी दिएका छन्। तीमध्ये पनि पूर्व नगर अध्यक्ष भइसकेका र हाल राप्रपाका क्षेत्रीय उपाध्यक्षको जिम्मेवारी सम्हालिरहेका देवीप्रसाद दाहालको पल्ला भारी देखिएको छ। समाजसेवामा सक्रिय, लोकप्रिय युवा नेता दाहाललाई स्थानीय कार्यकर्ताहरूले पुनः नेतृत्वमा ल्याउने चर्चा चुलिएको छ।
दाहाल उर्लाबारी–४ का स्थायी बासिन्दा हुन्। उनले विगतमा पार्टी र समाजका विभिन्न गतिविधिमा उल्लेखनीय योगदान गर्दै आएका छन्। पार्टीभित्रका अग्रज नेताहरूले उनको अनुभव र जनसंपर्क क्षमतालाई उच्च मूल्यांकन गर्दै नेतृत्व एकपटक पुनः उनलाई दिनुपर्ने आवाज उठाएका छन्।
राप्रपाले हिन्दु राष्ट्र र संवैधानिक राजतन्त्रको स्थापनाको पक्षमा लामो समयदेखि आवाज उठाउँदै आएको छ। अधिवेशनले पार्टीको सांगठनिक संरचनालाई थप मजबुत र क्रियाशील बनाउने उद्देश्य लिएको नगर समितिले जनाएको छ। नगर अधिवेशनमा उर्लाबारीका नौ वडाबाट चयन भएका १ सय ८९ जना प्रतिनिधिहरूले मतदान गर्नेछन्। अधिवेशनप्रति स्थानीय कार्यकर्ताहरूमा उत्साह र चासो व्यापक देखिएको छ।














