भोजपुरमा ज्वाइँद्वारा परिवारका ४ चार सदस्यको बीभत्स हत्या

भोजपुर। भोजपुरको रामप्रसाद राई गाउँपालिका–२ धोद्लेखानीमा एकै परिवारका चार जनाको बीभत्स हत्या भएको छ। यस घटनामा ज्वाइँ राजेन्द्र राईले आफ्ना सासू, ससुरा, श्रीमती र सालोको धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाका अनुसार ६८ वर्षीय बेलबहादुर गिरी, उनकी श्रीमती ४५ वर्षीया मञ्जु गिरी, १६ वर्षीया छोरी मनिषा गिरी र १० वर्षीय छोरा सपन गिरीको हत्या भएको हो।

शनिबार राति करिब १ बजेतिर राजेन्द्र राई आफैंले प्रहरी कन्ट्रोल रुममा फोन गरी आफूमाथि चक्कु प्रहार भएको र त्यसपछि आफूले मान्छे मारेको स्वीकार गर्दै पक्राउ गर्न अनुरोध गरेका थिए। सूचना प्राप्त हुनासाथ तत्कालै प्रहरी टोली घटनास्थलमा खटिएको थियो।

प्रहरीले घटनास्थल रामप्रसाद राई गाउँपालिका–२ धोदलेखानीमा चारै जनाको शव फेला पारेको थियो। राजेन्द्र राईलाई भने घटनास्थलबाट करिब ४-५ किलोमिटर टाढा रामप्रसाद राई गाउँपालिका वडा नम्बर १ हर्बुभञ्ज्याङमा घाइते अवस्थामा फेला पारी नियन्त्रणमा लिइएको छ। उनको पेटमा धारिलो हतियारको चोट रहेको र हाल जिल्ला अस्पताल भोजपुरमा उपचार भइरहेको छ।

प्रारम्भिक बयानका क्रममा राईले शनिबार राति करिब ११ बजे सासूले चक्कुले हानेपछि आफूले चार जनाको हत्या गरेको बताएका छन्। इन्सपेक्टर दीपक श्रेष्ठका अनुसार, ‘उनी बिस्तारै बोल्न सक्छन् र आफूले हत्या गरेको भनेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको छ।’
प्रहरीका अनुसार राजेन्द्र राईले करिब एक वर्षअघि प्रेम विवाह गरेका थिए।

यस घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.