सिंहदरबारमा आगलागी हुँदा महानगर निष्क्रिय थिएन: आन्दोलनकै बीच ५५ पटक दमकल परिचालन भएको मेयर बालेन शाहको स्पष्टीकरण

काठमाडौँ, अशोज २१ गते । पछिल्ला दिनमा सिंहदरबारमा लागेको आगोका क्रममा काठमाडौँ महानगरको दमकल किन नपुगेको भन्ने प्रश्न र आरोप सार्वजनिक भइरहेका छन्। “सिंहदरबार जलाउँदा बालेन शाह कहाँ थिए?” “दमकल तीन दिनसम्म किन हेरेर बस्यो?” भन्ने आलोचनाका बीच काठमाडौँ महानगर प्रमुख बालेन शाहले विस्तृत विवरणसहित स्पष्टीकरण दिएका छन्।

मेयर शाहका अनुसार भदौ २४ गतेको घटनाका समयमा देश पूर्ण रूपमा अराजक अवस्थाबाट गुज्रिरहेको थियो। उनले भने, “त्यो दिन देशमा सरकार थिएन, सुरक्षा संयन्त्र निष्क्रिय थियो। यस्तो अवस्थामा पनि काठमाडौँ महानगर आफ्नो जिम्मेवारीबाट पछाडि हटेको थिएन।”

शाहले आगो निभाउने क्रममा आन्दोलनकारीले बारम्बार अवरोध गरेकाले सिंहदरबारमा पुग्न ढिलो भएको स्पष्ट पारेका छन्। उनका अनुसार सिंहदरबारको आगलागी सुरु भएपछि महानगरका दमकल पठाउने प्रयास भए पनि आन्दोलनकारीको भीडका कारण दमकल अघि बढ्न सकेको थिएन। “२४ गते साँझ ८:१५ बजे हाम्रो दमकल सिंहदरबार पुगेको थियो,” शाहले भने।

उनका अनुसार महानगरसँग हाल न्युरोडमा २, बालाजुमा २ र रामहिटीमा १ गरी जम्मा ५ वटा दमकल छन्, जसलाई ४४ जनाको टिमले तीन सिफ्टमा सञ्चालन गर्दै आएको छ। “हामी कुनै आरोपबाट भाग्दैनौं, जिम्मेवारीबाट त झन् होइन,” उनले भने।

शाहले आन्दोलन सुरु भएको भदौ २३ गतेदेखि २८ गतेसम्म महानगरका दमकलले काठमाडौंका विभिन्न स्थानमा ५५ पटकभन्दा बढी आगो निभाउने काम गरेको विवरण सार्वजनिक गरेका छन्। ती स्थानमा सिंहदरबार, संसद भवन, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सर्वोच्च अदालत, विभिन्न बैंक, प्रहरी वृत्त, डाटा सेन्टर, भाटभटेनी सुपरमार्केट र निजी घरहरू रहेका छन्।

उनले भने, “हाम्रो दमकलले सिंहदरबारमा मात्र होइन, संसद भवनदेखि अदालतसम्मका कागजात जोगाउन महत्वपूर्ण भूमिका खेलेको प्रमाण हामीसँग सुरक्षित छ।”

स्वास्थ्य, उद्धार र लास व्यवस्थापनमा पनि सक्रियता

महानगर प्रमुख शाहका अनुसार संघीय सरकारले घोषणा गर्नुअघि नै महानगरले अस्पतालहरूलाई निशुल्क उपचारका लागि समन्वय गरेको थियो। स्वास्थ्यकर्मी, औषधि, रगत, खाना, बसोबास, तथा लास व्यवस्थापनका लागि महानगरका नगर प्रहरी, स्वास्थ्यकर्मी र स्वयंसेवकहरू निरन्तर खटिएका थिए।

“अपरेसनको समयमा अभिभावक नभएका बिरामीका लागि हाम्रो नगर प्रहरी नै अभिभावक बनेर हस्ताक्षर गरेको उदाहरण छ,” उनले भने।

शाहले नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेनासँग सहकार्य गर्दै लास व्यवस्थापन, उद्धार र राहत सामग्री वितरणमा समेत महानगर अग्रणी रहेको बताएका छन्।

‘अफवाह फैलाउन रोकौँ’

मेयर शाहले मिडिया र नागरिकहरूलाई तथ्यरहित आरोप नलगाउन आग्रह गर्दै भने, “सत्य नबुझी हल्ला फैलाउनेहरूले जनतालाई भ्रममा पार्छन् र हाम्रो टिमको मनोबल घटाउँछन्।” उनले मिडियालाई सत्य खोजेर मात्र समाचार प्रकाशन गर्न अनुरोध गरेका छन्।

शाहले अन्त्यमा भने, “देशलाई अहिले झुट र हल्लाको होइन, सत्य र एकताको आवश्यकता छ। जनताको भरोसा नै हाम्रो शक्ति हो, हामी जिम्मेवारीबाट कहिल्यै पछि हट्दैनौं।”

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.