काठमाडौँ, कात्तिक २२ गते । नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको बैठकले आगामी राजनीतिक गतिविधि र संगठन सुदृढीकरणका लागि महत्वपूर्ण निर्णयहरू गरेको छ। पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको बैठकले सबै प्रदेशहरूमा ‘एकता सन्देश सभा’का कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिएका छन्।
बैठकले घोषित निर्वाचनको तयारीलाई व्यवस्थित र प्रभावकारी ढंगले अभियानका रूपमा अगाडि बढाउने निर्णय पनि गरेको छ। साथै, पार्टी अन्तर्गतका जनवर्गीय संगठन, मोर्चा तथा सहायक संगठनहरूलाई सम्बन्धित तहका पार्टी संरचनासँग समन्वय गरी जनपरिचालन गर्न निर्देशन दिइएको छ।
पार्टीले देशभर संगठनात्मक एकता, जनसहभागिता र निर्वाचन तयारीलाई सुदृढ बनाउन यस अभियानलाई केन्द्रीय महत्वका रूपमा लिने जनाएको छ।



























