हेटौंडा, मंसिर ५ गते । राष्ट्रिय सहकारी बैंक लिमिटेडले आफ्नो २२औँ वार्षिक साधारण सभा (AGM) आगामी शनिबार, मंसिर ६ गते प्रदेशगत रूपमा सम्पन्न गर्ने भएको छ। यसअघि बैंकले पत्रपत्रिका तथा संस्थागत पत्रमार्फत सूचना प्रकाशित गरिसके पनि कुनै कारणवश सूचना नपुगेको हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै पुनः जानकारी गराइएको बैंकले जनाएको छ।
बैंकका अनुसार सबै प्रदेशमा आयोजना हुने सो साधारण सभामा शेयरधनी सदस्य संस्थाहरूको अनिवार्य उपस्थितिको अपेक्षा गरिएको छ। साथै मंसिर ६ गतेको प्रदेशगत एकाई सभामा उपस्थित प्रतिनिधिहरूले मात्र आगामी पौष महिनामा हुने सञ्चालक तथा लेखा समितिको निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था गरिएकोले यो महत्वपूर्ण अवसर नछुटाउन विशेष आग्रह गरिएको छ।
थप जानकारी वा सहयोग आवश्यक परे नजिकको शाखा कार्यालय वा बैंकको केन्द्रीय कार्यालयमा सम्पर्क गर्न बैंकले अनुरोध गरेको छ। साथै यो सूचनालाई अन्य शेयरधनीहरूमा समेत प्रसारण गरिदिन बैंकले आग्रह गरेको छ।
राष्ट्रिय सहकारी बैंक लिमिटेडले आफ्नो शेयरधनीहरूको निरन्तर सहयोगप्रति कृतज्ञता प्रकट गरेको छ।



























