अपाङ्गता अन्तर्राष्ट्रिय दिवसमा हेटौंडामा सार्वजनिक यातायातमा ५०% भाडा छुट स्टिकर अभियान सम्पन्न

हेटौंडा, मंसिर १८ गते । अपाङ्गता भएका व्यक्तिको ३४औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा सार्वजनिक यातायातमा ५० प्रतिशत भाडा छुटको जानकारीमूलक स्टिकर टाँस अभियान हेटौंडामा सफलतापूर्वक सम्पन्न गरिएको छ। राष्ट्रिय अपाङ्ग महासंघ नेपाल बागमती प्रदेशको आयोजनामा तथा अपाङ्ग सरोकार केन्द्र मकवानपुर, नारायणी यातायात व्यवसायी संघ हेटौंडा र जिल्ला ट्राफिक प्रहरी कार्यालयको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमअन्तर्गत अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकलाई कानुनद्वारा प्रदान गरिएका छुट सुविधाबारे स्पष्ट जानकारी दिन स्टिकरहरू विभिन्न सार्वजनिक यातायातका साधनमा टाँस गरिएको थियो।

अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४ को दफा ३७(२), अधिकारसम्बन्धी नियमावली २०७७ को नियम १२, तथा ज्येष्ठ नागरिक ऐन २०६३ को दफा ९(२) ले सार्वजनिक यातायातमा ५० प्रतिशत भाडा छुट उपलब्ध गराउनुपर्ने व्यवस्था गरेको छ। यद्यपि व्यवहारमा यसको प्रभावकारी कार्यान्वयन नहुँदा, यो अभियानलाई छुट व्यवस्थालाई व्यवहारिक रूपमा लागू गराउने महत्वपूर्ण कदमका रूपमा अगाडि सारिएको आयोजकहरूले बताए।

कार्यक्रम राष्ट्रिय अपाङ्ग महासंघ नेपाल बागमती प्रदेशका अध्यक्ष उपेन्द्र श्रेष्ठको अध्यक्षतामा सञ्चालन गरिएको थियो। अध्यक्ष श्रेष्ठले कागजमा मात्रै सीमित छुट व्यवस्थालाई व्यवहारमा रूपान्तरण गर्न स्टिकर अभियान प्रभावकारी सावित हुने विश्वास व्यक्त गरे।

त्यस्तै, नारायणी यातायात व्यवसायी संघ हेटौंडाका सचिव गूणराज घिमिरेले अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकलाई सम्मानजनक र सुलभ यातायात सेवा उपलब्ध गराउनु सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्दै स्टिकरले छुट सुविधाको स्पष्ट पहिचान र कार्यान्वयन सहज बनाउने बताए।

कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रतिनिधि, सामुदायिक प्रहरी केन्द्र, सार्वजनिक यातायात व्यवसायी, सरोकारवाला संस्थाका प्रतिनिधि तथा विभिन्न वर्गीय संघ–संस्थाका प्रमुखहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रम राष्ट्रिय अपाङ्ग महासंघ नेपाल बागमती प्रदेशका सचिव यम प्रसाद सुवेदीले सञ्चालन गरेका थिए।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.