हेटौंडा, पुस ९ गते । आदिवासी जनजाति महिला तथा किशोरीमाथि हुने हिंसा र भेदभाव अन्त्यका लागि केन्द्रित दुईदिने प्रदेशस्तरीय तालिम बुधबारदेखि हेटौंडामा सुरु भएको छ। महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धि (सीईडिएडब्ल्यू) तथा आधारभूत सिफारिस नम्बर ३९ का प्रावधानबारे जानकारी गराउने उद्देश्यले तालिम आयोजना गरिएको हो।

राष्ट्रिय महिला जनजाति महासंघ नेपालद्वारा आयोजित कार्यक्रमको अध्यक्षता महासंघकी अध्यक्ष निमि शेर्पाले गरेकी छन् भने पूर्व मन्त्री शन्त बहादुर चेपाङ प्रमुख अतिथिका रूपमा सहभागी छन्। बागमती प्रदेशका विभिन्न जिल्लाबाट आएका महिला अधिकारकर्मी, सामाजिक अभियन्ता र सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको छ।

तालिमको उद्देश्यबारे जानकारी दिँदै अध्यक्ष शेर्पाले सीईडिएडब्ल्यू अन्तर्गत राज्यको दायित्व, आदिवासी जनजाति महिला तथा किशोरीका अधिकार संरक्षणका उपाय र व्यवहारिक कार्यान्वयनका विषयमा सहभागीलाई सशक्त बनाउने लक्ष्य रहेको बताइन्।

कार्यक्रममा अधिवक्ता कौशिला राईले आदिवासी जनजाति महिला तथा किशोरीका अधिकार, उनीहरूले भोग्दै आएका हिंसा र भेदभावका अवस्था, राष्ट्रिय कानुनी व्यवस्था तथा अन्तर्राष्ट्रिय महासन्धिहरूको कार्यान्वयनबारे सहजीकरण गरेकी छन्।

त्यसैगरी, कार्यक्रममा आदिवासी जनजाति महासंघ मकवानपुरका अध्यक्ष जङ्ग बहादुर गुरुङ, चेपाङ सामाजिक उत्थान केन्द्रका सचिव कुमार चेपाङलगायत १३ वटै जिल्लाबाट आएका प्रतिनिधि, केही सञ्चारकर्मीसमेत सहभागी छन्।
आयोजकका अनुसार, तालिम सकिएपछि यही महिनाभित्र बागमती प्रदेशको महिला जनजाति महासंघको अधिवेशन सम्पन्न गर्ने तयारीसमेत गरिएको छ।














