काठमाडौं, माघ २ गते । नेपाल सरकार गृहमन्त्रीस्तरको २०८२ माघ २ गतेको निर्णयअनुसार प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षक पदमा पदोन्नति भएका १० जना प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका छन्। नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित समारोहमा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले उनीहरूलाई दर्ज्यानी चिन्ह लगाइदिएको हो।

दर्ज्यानी चिन्ह सुशोभित हुने प्रहरी वरिष्ठ उपरीक्षकहरूमा राम प्रकाश शाह, भुवनेश्वर तिवारी, ऋषि राम कंडेल, सुरेश प्रसाद काफ्ले, श्याम सिंह चौधरी, नकुल पोखरेल, दिलिप घिमिरे, पदम बहादुर विष्ट, योगेन्द्र सिंह थापा र सुवास चन्द्र वोहरा रहनुभएको छ। समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले पदोन्नति प्राप्त अधिकृतहरूलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे। राष्ट्र, जनता र संगठन प्रति देखाएको सेवा, व्यवसायिक समर्पण, अनुशासन र निष्ठाका आधारमा पदोन्नति गरिएको उल्लेख गर्दै उनले बढुवासँगै जिम्मेवारी र दायित्व पनि बढ्ने भएकाले थप जिम्मेवारीमा आफूलाई सक्षम प्रमाणित गर्नुपर्ने अपेक्षा व्यक्त गरेका थिए।

आसन्न निर्वाचनलाई शान्तिपूर्ण र भयरहित रूपमा सम्पन्न गराउन सूचना सङ्कलनलाई प्राथमिकता दिन, सम्भावित सुरक्षा चुनौतीको पहिचान गर्न र थप सक्रिय तथा उर्जाशील भएर कार्य सम्पादन गर्न प्रहरी कर्मचारीहरूलाई उनले निर्देशन दिए। पदोन्नति भएका अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी वरिष्ठ उपरीक्षक राम प्रकाश शाहले प्राप्त जिम्मेवारीलाई व्यवसायिक निष्ठा र इमान्दारिताका साथ उत्कृष्ट ढंगले निर्वाह गर्ने प्रतिबद्धता जनाए।
दर्ज्यानी चिन्ह सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षक, नायव महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृतहरू तथा प्रहरी जवानहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।














