रायपुर, माघ १० गते । भारतीय क्रिकेट टोलीले न्युजिल्याण्ड विरुद्ध दोस्रो टी–२० अन्तर्राष्ट्रिय खेलमा दर्शकलाई रोमाञ्चित बनाउने प्रदर्शन गर्दै ७ विकेटको शानदार जित निकालेको छ। आक्रामक ब्याटर इशान किशनको विस्फोटक पारी र कप्तान सूर्य कुमार यादवको संयमित तर घातक ब्याटिङका कारण भारतले पाँच खेलको शृङ्खलामा २–० को बलियो अग्रता लिएको छ।
टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले रायपुर स्थित शहीद वीर नारायण सिंह रंगशालामा २० ओभरमा ६ विकेट गुमाउँदै २०८ रनको चुनौती पूर्ण स्कोर खडा गर्यो। कप्तान मिचेल सान्टनरले अविजित ४७ रन जोड्दा रचिन रविन्द्रले ४४ रनको महत्वपूर्ण योगदान दिए। भारतीय बलिङतर्फ कुलदीप यादवले किफायती स्पेलसहित २ विकेट हात पार्दै न्युजिल्याण्डको रनगति केही हदसम्म रोक्न सफल भए।
२०९ रनको लक्ष्य पछ्याउन उत्रिएको भारतको सुरुवात भने अत्यन्तै कमजोर रह्यो। पहिलो दुई ओभरमै अभिषेक शर्मा र सन्जु सामसन पभेलियन फर्किँदा भारत मात्र ६ रनमै दुई विकेट गुमाएर दबाबमा आयो।
तर यही दबाबलाई अवसरमा बदल्दै इशान किशन मैदानमा आँधीसरह प्रस्तुत भए। उनले न्युजिल्याण्डका बलरहरूमाथि आक्रमण गर्दै ३२ बलमा ७६ रनको विस्फोटक पारी खेले। २१ बलमै अर्धशतक पूरा गरेका इशानको पारीमा ११ चौका र ४ छक्का समावेश थिए, जसले खेलको दिशा नै मोडिदियो।
इशान आउट भएपछि कप्तान सूर्य कुमार यादवले जिम्मेवारी सम्हाल्दै इनिङ्सलाई अन्त्यसम्म सुरक्षित रूपमा पुर्याए। उनले ३७ बलमा अविजित ८२ रन प्रहार गर्दै भारतलाई मात्र १५.२ ओभरमै लक्ष्यमा पुर्याए।
यस जितसँगै भारतले न्युजिल्याण्ड माथि स्पष्ट मनोवैज्ञानिक दबाब बनाएको छ भने शृङ्खलामा आफ्नो पकड अझ मजबुत बनाएको छ।













