हेटौँडा, माघ २१ गते । हेटौँडा–४ नम्बर वडा अध्यक्ष नवीन सिग्देलले उत्कृष्ट खेलाडी उत्पादन गर्न विद्यालय तहबाटै खेलकुदलाई प्राथमिकतामा राख्नु पर्नेमा जोड दिएका छन्। भुटनदेवी माध्यमिक विद्यालय, हेटौँडा–४ द्वारा आयोजित प्रथम सप्ताह व्यापी खेलकुद प्रतियोगिताको उद्घाटन गर्दै उनले शिक्षा र खेलकुदलाई सँगसँगै अघि बढाउनु पर्ने बताए।
अध्यक्ष सिग्देलले खेलकुदलाई पाठ्यक्रमको अभिन्न अंगका रूपमा विद्यालयबाटै समावेश गर्न सकिएमा विद्यार्थीको शारीरिक मात्र होइन, मानसिक विकास समेत सुदृढ हुने उल्लेख गरे। अतिरिक्त क्रियाकलापले शिक्षालाई व्यवहारिक र सार्थक बनाउने भएकाले खेलकुद क्रियाकलाप अपरिहार्य रहेको उनको भनाइ थियो।
कार्यक्रममा वडा सदस्य गीता त्रिपाठी, विद्यालय व्यवस्थापन समितिका सदस्यहरू राजेन्द्र कुमार बस्ताकोटी, नारायण प्रसाद तिमल्सिना, कृष्ण कँडेल तथा अनुगमन समिति संयोजक इन्द्र प्रसाद नेपालको आतिथ्यता रहेको थियो। कार्यक्रम विद्यालयका प्रधानाध्यापक सूर्य प्रसाद घिमिरेको अध्यक्षतामा सम्पन्न भएको हो।
सप्ताह व्यापी प्रतियोगिताअन्तर्गत विभिन्न खेल विधामा प्रतिस्पर्धा हुने खेलकुद शिक्षक प्रकाश सुवेदीले जानकारी दिए। साथै, माघ २३ र २४ गते विद्यालय स्तरमा नगर स्तरीय क्रिकेट प्रतियोगिता समेत आयोजना गरिने उनले बताए।














