नेपाल पत्रकार महासंघको माग: प्रेस पासकै आधारमा निर्वाचन समाचार संकलन गर्न सहज व्यवस्था गरियोस्

काठमाडौँ, फागुन २० गते । प्रतिनिधि सभा निर्वाचनको समाचार संकलनका क्रममा देशभरका पत्रकार तथा सञ्चार गृहले प्रशासनिक झन्झट व्यहोर्नु परेकोप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण गराएको छ।

महासंघले मतदानको अघिल्लो दिनसम्म पनि पत्रकार र सञ्चारगृहले सहज रूपमा सूचना संकलन गरी जनता समक्ष पुर्‍याउने वातावरण नबनेकोमा दुःख व्यक्त गरेको छ। प्रेस विज्ञप्ति जारी गर्दै महासंघले सूचना विभाग तथा अन्य सरकारी निकायबाट जारी प्रेस पास, सम्बद्ध सञ्चारगृह वा महासंघको परिचयपत्रका आधारमा मतदान, मतगणनासम्बन्धी समाचार संकलन तथा त्यसका लागि सवारी साधनको पास तत्काल उपलब्ध गराउन माग गरेको छ।

महासंघले यस विषयमा निर्वाचन आयोग र नेपाल सरकारसँग जोडदार आग्रह गर्दै पारदर्शी, स्वच्छ, निष्पक्ष र स्वतन्त्र निर्वाचनका लागि प्रेसको भूमिका महत्वपूर्ण रहेको स्मरण गराएको छ। प्रेसलाई आफ्नो दायित्व निर्वाह गर्न सहजीकरण र समन्वय गर्नु सम्बद्ध निकायको कर्तव्य भएको महासंघको ठहर छ।

यदि यस्तो सहजीकरण नहुने हो भने निर्वाचनप्रति नै आशंका सिर्जना हुन सक्ने भन्दै महासंघले सम्बन्धित पक्षलाई गम्भीर हुन चेतावनीसमेत दिएको छ। साथै, निर्वाचनको क्रममा सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै पत्रकारको सुरक्षामा विशेष ध्यान दिन माग गरिएको छ।

महासंघले पत्रकारहरूलाई सुरक्षित रूपमा कार्यथलोमा खटिन, तटस्थता कायम राख्दै निर्वाचन आचारसंहिता तथा पत्रकार आचारसंहिताको पालना गर्न आह्वान गरेको छ। साथै, आफ्ना सदस्यका समस्या समाधानमा सक्रिय रहन सबै प्रदेश समिति, शाखा समिति तथा संस्थागत सदस्य संस्थाहरूलाई पनि अपिल गरिएको छ।

नेपाल पत्रकार महासंघद्वारा जारी प्रेस विज्ञप्ति यस्तो छ हेर्नुहोस्। 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.