हेटौँडा, चैत ११ गते । श्री त्रिभुवन माध्यमिक विद्यालय, हेटौंडा–११ को विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा वडा अध्यक्ष जुना दाहाल नियुक्त भएको विषयमा स्थानीयस्तरमा चासो र बहस बढ्न थालेको छ।

सेवा सहयोग र आवाजका अध्यक्ष तथा सामाजिक अभियान्ता विशालराज महतले सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त विषयमा आफ्नो ध्यानाकर्षण भएको जनाउँदै सार्वजनिक सरोकारको विषय उठाएका हुन्। उनले यो विषयलाई व्यक्तिगत विरोध नभई जिम्मेवार नागरिकको सरोकारका रूपमा लिन आग्रह गरेका छन्।
महतले वडा अध्यक्षको भूमिका अनुगमन, समन्वय र सहजीकरणमा सीमित हुनुपर्ने उल्लेख गर्दै सोही व्यक्ति विद्यालय व्यवस्थापन समितिको अध्यक्ष समेत बन्नु भूमिकागत द्वन्द्व निम्त्याउन सक्ने बताएका छन्। “अनुगमन गर्ने र अनुगमन हुने दुवै भूमिका एउटै व्यक्तिमा केन्द्रित हुँदा पारदर्शिता र जवाफदेहितामा असर पर्न सक्छ,” उनले उल्लेख गरेका छन्।
उनले न्यायालयले समेत यस्तो अवस्थालाई उपयुक्त नठानेको सन्दर्भ जोड्दै विद्यालयलाई राजनीतिक प्रभावबाट टाढा राख्नुपर्ने धारणा व्यक्त गरेका छन्। विद्यालय व्यवस्थापन समिति गठन गर्दा शैक्षिक आवश्यकता र संस्थागत हितलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ।
महतले सक्षम व्यक्तिहरूको अभाव नभएको अवस्थामा वडा अध्यक्ष स्वयं अध्यक्ष बन्नु आवश्यक किन पर्यो भन्ने प्रश्नसमेत उठाएका छन्। “के वडा नं. ११ मा योग्य व्यक्तिको खडेरी परेको हो?” भन्ने प्रश्नमार्फत उनले स्थानीय नेतृत्व चयन प्रक्रियामा पुनर्विचार गर्न आग्रह गरेका छन्।
उनका अनुसार यदि यस्तो अभ्यास विस्तार हुँदै गएमा शिक्षा क्षेत्रमा गलत नजिर बस्न सक्ने खतरा छ। त्यसैले सम्बन्धित निकायले गम्भीर समीक्षा गरी विद्यालय व्यवस्थापनमा स्वायत्तता, निष्पक्षता र पारदर्शिता सुनिश्चित गर्नुपर्ने आवश्यकता औंल्याइएको छ।
विद्यालयलाई राजनीतिक प्रभावबाट मुक्त राखी गुणस्तरीय शिक्षाको केन्द्रका रूपमा विकास गर्नुपर्नेमा उनले जोड दिएका छन्।














