हेटौडा यातायात कार्यालयमा पारदर्शिता माग्दै ‘सेवा सहयोग र आवाजमा हामी’ को ध्यानाकर्षण

हेटौडा, चैत १९ गते । ‘सेवा सहयोग र आवाजमा हामी’ ले यातायात व्यवस्था कार्यालय हेटौडामा भइरहेको सेवाप्रवाहप्रति गम्भीर ध्यानाकर्षण गराउँदै पारदर्शिता र सेवाग्राहीमैत्री व्यवस्थाको माग गरेको छ।

संस्थाका अध्यक्ष विशाल राज महतले कार्यालय प्रमुखलाई बुझाएको ध्यानाकर्षण पत्रमा ड्राइभिङ लाइसेन्सको ट्रायल परीक्षण प्रक्रियामा देखिएका विभिन्न समस्याहरू औंल्याइएको छ। पत्रमा ट्रायल स्थलमा जडान गरिएका सिसी क्यामेराको फुटेज कर्मचारीले मात्र हेर्न पाउने र सेवाग्राहीले आफ्नो पास–फेल नतिजा हेर्न शुल्क तिर्नुपर्ने प्रावधानले पारदर्शितामा प्रश्न उठाएको उल्लेख गरिएको छ।

‘सेवा सहयोग र आवाजमा हामी’ ले यस्तो व्यवस्था रहँदा अनियमितता र मनपरी हुने सम्भावना बढ्ने भन्दै सिसी क्यामेराको लाइभ दृश्य सेवाग्राहीले प्रत्यक्ष हेर्न पाउने व्यवस्था गर्न माग गरेको छ। सार्वजनिक रूपमा मोनिटर राखी सबैले सहज रूपमा हेर्न सक्ने वातावरण बनाइनुपर्ने उनीहरूको भनाइ छ। यसलाई नेपालको संविधान २०७२ को धारा २७ तथा सूचनाको हक सम्बन्धी ऐन २०६४ अनुसार नागरिकको मौलिक हकसँग जोडिएको विषय भएको पनि संस्थाले उल्लेख गरेको छ।

त्यसैगरी, ट्रायल परीक्षणमा आफ्नै सवारी साधन प्रयोग गर्न नदिने प्रावधानलाई पनि संस्थाले अव्यावहारिक भन्दै हटाउन माग गरेको छ। आफ्नै साधनमा अभ्यास गरेका सेवाग्राहीले त्यही साधन प्रयोग गर्दा परीक्षण अझ यथार्थपरक हुने तर्क गरिएको छ।

निवेदन प्रक्रिया सम्बन्धमा पनि समस्या औंल्याउँदै संस्थाले निवेदन आफैं लेख्न चाहने सेवाग्राहीका लागि टिकट अनिवार्य गरिनु झन्झटपूर्ण भएको बताएको छ। यसका लागि यातायात कार्यालयमै टिकट काउन्टरको व्यवस्था गर्नुपर्ने माग गरिएको छ, जसले सेवाग्राहीलाई सहजता प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ।

संस्थाले आफ्ना मागहरूमा ट्रायल स्थलमा सार्वजनिक मोनिटर जडान, सिसी क्यामेरा फुटेज हेर्न शुल्क खारेज, पारदर्शी नीति लागू, आफ्नै सवारी साधन प्रयोगको अनुमति तथा टिकट घरको व्यवस्था तुरुन्त कार्यान्वयन गर्न आग्रह गरेको छ।

यदि यी मागहरू सम्बोधन नभए थप संघर्षका कार्यक्रम अघि बढाउने चेतावनी समेत संस्थाले दिएको छ। सम्बन्धित निकायको सकारात्मक पहलको अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.