मकवानपुरमा बिजुलीको पोल गाड्दा करेन्ट लागेर एकको मृत्यु, दुई घाइते

हेटौडा, चैत १९ गते । मकवानपुरमा बिजुली विस्तारका क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

आज मकवानपुरगढी गाउँपालिका–२ मोरेस्थित गाउँमा बिजुलीको पोल गाड्ने क्रममा दुर्घटना भएको हो। ६ जना मिलेर फलामको पोल गाड्ने क्रममा उक्त पोल माथि रहेको हाईटेन्सन लाइनमा ठोक्किन पुगेपछि तीन जनालाई करेन्ट लागेको प्रहरीले जनाएको छ।

करेन्ट लागेर घाइते भएका तीनै जनालाई तत्काल उद्धार गरी उपचारका लागि चुरेहिल अस्पताल, मकवानपुर लगिएको थियो। उपचारकै क्रममा मकवानपुरगढी–२ मापुङ निवासी अन्दाजी ३५ वर्षीय राजकुमार गोलेलाई साँझ चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिएका छन्।

घाइतेमध्ये मकवानपुरगढी–७ सानडाँडा निवासी अन्दाजी ५५ वर्षीय मानबहादुर गोलेको अवस्था मध्यम रहेको छ भने मकवानपुरगढी–२ मोरे निवासी अन्दाजी ३० वर्षीय राजकुमार स्याङतानको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.