हेटौंडा,बैशाख २१ गते । नेपाली कांग्रेस जिल्ला कार्यसमिति मकवानपुरले बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियामाथि लक्षित गरी गरिएको छापामारीप्रति गम्भीर आपत्ति जनाएको छ।
समितिद्वारा जारी प्रेस विज्ञप्तिमा वर्तमान सरकारले राजनीतिक पूर्वाग्रह साँध्ने उद्देश्यले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको नाममा सामान्य सूचनाको हकसमेत अवलम्बन नगरी छापा मारिएको उल्लेख गरिएको छ। यस्तो कार्यले लोकतान्त्रिक मूल्य, मान्यता र विधिको शासनमाथि प्रश्न उठाएको कांग्रेसको भनाइ छ।
विज्ञप्तिमा लामो समयदेखि सुशासन, पारदर्शिता र भ्रष्टाचारमुक्त समाज निर्माणमा प्रतिबद्ध रहेको राजनीतिक नेतृत्वको मर्यादामा आघात पुग्ने गरी गरिएको कदमप्रति आपत्ति जनाउँदै यसलाई तानाशाही र निरंकुश शैलीको व्यवहारको संज्ञा दिइएको छ।
कांग्रेस मकवानपुरले अनुसन्धानका नाममा राजनीतिक दलका नेताहरूमाथि गरिएको व्यवहार आपत्तिजनक र खेदपूर्ण रहेको उल्लेख गर्दै राज्यका तर्फबाट गरिने कुनै पनि कानुनी अनुसन्धानमा सहयोग गर्ने प्रतिबद्धता दोहोर्याएको छ। तथापि, यस्ता गतिविधिले सरकार लोकतन्त्र र मानव अधिकारप्रति संवेदनशील नरहेको सन्देश जाने दाबी गरिएको छ।
समितिका सभापति बुद्ध लामाद्वारा जारी विज्ञप्तिमा यस्ता कार्यप्रति घोर भर्त्सना गर्दै भविष्यमा यस्ता गतिविधि नदोहोऱ्याउन चेतावनीसमेत दिइएको छ।















