हेटौंडा,बैशाख २१ गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले) जिल्ला कमिटी मकवानपुरले सुकुम्बासी तथा भूमिहीन बस्तीमा डोजर चलाइएको घटनाप्रति गम्भीर आपत्ति जनाउँदै सरकारको कदमलाई ‘राज्य आतंक’को संज्ञा दिएको छ।
जिल्ला कमिटीद्वारा जारी प्रेस विज्ञप्तिमा वर्षौंदेखि बसोबास गर्दै आएका दलित सुकुम्बासी तथा भूमिहीन नागरिकलाई वैकल्पिक व्यवस्था नगरी वर्षाको प्रतिकूल मौसममा हटाउने प्रयास अस्वीकार्य भएको उल्लेख गरिएको छ। एमालेले यस्तो कार्यले गरिब तथा विपन्न समुदायको जीवन अझ असुरक्षित र अनिश्चित बनाएको जनाएको छ।
विज्ञप्तिमा सरकारको कदमलाई अलोकतान्त्रिक र अपरिपक्व भन्दै आलोचना गरिएको छ। गरिबी हटाउने प्रतिबद्धता जनाएको सरकारले नै गरिब नागरिकलाई विस्थापित गर्ने नीति अपनाएको भन्दै प्रश्न उठाइएको छ।
एमाले मकवानपुरले काठमाडौँको थापाथली, मनोहरा लगायत क्षेत्रमा सुकुम्बासी बस्तीमा गरिएको डोजर प्रयोगलाई नागरिकको गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य तथा बाँच्न पाउने संवैधानिक अधिकारमाथिको ठाडो प्रहारका रूपमा व्याख्या गरेको छ। साथै, यस्तो कदमले देशभरका सुकुम्बासी बस्तीमा त्रास फैलिएको दाबी गरिएको छ।
विज्ञप्तिमा सुकुम्बासी समस्या समाधानका लागि पहिला राज्यले उनीहरूको पहिचान गरी उचित वैकल्पिक व्यवस्था गर्नुपर्ने उल्लेख गरिएको छ। त्यसपछि मात्र आवश्यक प्रक्रिया अपनाएर बस्ती व्यवस्थापन गर्नुपर्नेमा जोड दिइएको छ।
एमालेले सरकारसँग तत्काल यस्ता गतिविधि बन्द गरी सुकुम्बासी तथा भूमिहीन नागरिकलाई शान्तिपूर्वक बसोबास गर्ने अधिकारको ग्यारेन्टी गर्न आग्रह गरेको छ।















