मकवानपुरगढी सडकबीचको ऐतिहासिक चौतारो हटाउन वा सुरक्षित व्यवस्थापन गर्न माग

मकवानपुरगढी,जेठ १५ गते। इतिहास र सम्पदाको संरक्षण आवश्यक भए पनि मानव जीवनको सुरक्षालाई प्राथमिकतामा राख्नुपर्ने भन्दै मकवानपुरगढी दरबार जाने मुख्य सडकको बीचभागमा रहेको ऐतिहासिक चौतारोको सुरक्षित व्यवस्थापन गर्न आवाज उठ्न थालेको छ।

“सेवा, सहयोग र आवाजमा हामी” का अध्यक्ष तथा सामाजिक अभियान्ता विशालराज महत ले सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त विषयमा ध्यानाकर्षण गराउँदै सम्बन्धित निकायलाई समयमै आवश्यक निर्णय लिन आग्रह गरेका छन्।

 

उनले आफ्नो स्टाटसमार्फत तत्कालीन साहिसेनामार्फत निर्माण गरिएको उक्त चौतारो कुनै समय यात्रुहरूको विश्राम, संरक्षण तथा सामाजिक भेटघाटको महत्वपूर्ण स्थल रहेको उल्लेख गरेका छन्। ऐतिहासिक दृष्टिले महत्वपूर्ण भए पनि हाल जिर्ण अवस्थामा सडकको बीचभागमा स्तम्भका रूपमा रहेको संरचनाले संरक्षणभन्दा बढी जोखिम निम्त्याइरहेको उनको भनाइ छ।

मकवानपुरगढी दरबार जाने मुख्य सडक तथा काठमाडौं आवतजावत गर्ने सवारीसाधनको अत्यधिक चाप रहने उक्त क्षेत्रमा दैनिक हजारौं गाडी तथा मोटरसाइकल सञ्चालन हुने गरेका छन्। स्थानीयवासीका अनुसार पटक–पटक सवारी साधन उक्त स्तम्भमा ठोक्किने घटना भइरहेका छन्। हालसम्म ठूलो मानवीय क्षति नभए पनि भविष्यमा गम्भीर दुर्घटना हुन सक्ने जोखिम बढ्दै गएको बताइएको छ।

अभियान्ता महतले इतिहास जोगाउने नाममा दैनिक जनजीवनलाई जोखिममा पार्न नहुने उल्लेख गर्दै सम्पदाको संरक्षण आधुनिक व्यवस्थापन र सुरक्षित विकल्पमार्फत गर्न सकिने बताएका छन्। आवश्यक परे संरचनालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने, चेतावनी संकेत राख्ने वा अन्य वैकल्पिक संरक्षणका उपाय अपनाउन सकिने उनको सुझाव छ।

उनले सम्बन्धित स्थानीय सरकार, सडक विभाग तथा पुरातात्त्विक सरोकारवालाले यस विषयलाई गम्भीर रूपमा लिएर समयमै उचित निर्णय गर्नुपर्नेमा जोड दिएका छन्। समयमै सचेतना अपनाइए सम्भावित दुर्घटना टार्न सकिने र ऐतिहासिक महत्वसमेत सुरक्षित राख्न सकिने उनको भनाइ छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.