हेटौंडा,असार ७ गते। नगर प्रमुख मीनाकुमारी लामाले विकासका पूर्वाधार निर्माणसँगै नागरिकको खुसी, सहजता र दैनिक जीवनलाई पनि प्राथमिकतामा राख्नुपर्ने बताएकी छन्।

नेपाल बैंक लिमिटेडको बागमती प्रादेशिक कार्यालय तथा सिटी अफिस हेटौंडाको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख लामाले केवल ठूला भवन निर्माणले मात्र नागरिक सन्तुष्ट नहुने उल्लेख गरिन्।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उद्घाटन गरेको उक्त कार्यक्रममा उनले अव्यवस्थित संरचना, भत्किएका झ्याल–ढोका तथा सडक पूर्वाधारको कमजोर अवस्थाले नागरिकमा निराशा पैदा गर्ने बताइन्।
नगर प्रमुख लामाले हेटौंडामा रहेको राजमार्ग सम्बन्धी अन्योलता र सडक व्यवस्थापनप्रति सरकार गम्भीर बन्नुपर्ने आवश्यकता औंल्याइन्। आधुनिक र सुविधासम्पन्न भवन निर्माण सकारात्मक भए पनि नागरिकको दैनिक आवागमनसँग प्रत्यक्ष जोडिएका सडक तथा यातायात पूर्वाधारलाई व्यवस्थित बनाउन राज्यले विशेष ध्यान दिनुपर्ने उनको भनाइ थियो।
उनले विकासलाई केवल भौतिक संरचनामा सीमित नगरी नागरिकको जीवनस्तर सुधार, सहज सेवा प्रवाह र सुरक्षित यातायातसँग जोड्नुपर्नेमा जोड दिइन्। कार्यक्रममा विभिन्न जनप्रतिनिधि, बैंकका पदाधिकारी तथा स्थानीयवासीको उपस्थिति रहेको थियो।














