चिसापानी पुल मर्मतपछि हेटौंडा–काठमाडौं वैकल्पिक मार्ग पुनः सञ्चालन, यात्रुलाई सहज

हेटौंडा, साउन ४ गते । काठमाडौं प्रवेश गर्ने छोटो दूरीको वैकल्पिक मार्गअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी पुलको मर्मत सम्पन्न भएपछि आइतबारदेखि उक्त मार्गमा सवारीसाधनको आवागमन पुनः सुचारु भएको छ।

हेटौंडा–भीमफेदी–कुलेखानी–फाखेल–सिस्नेरी हुँदै काठमाडौं जोड्ने यस महत्वपूर्ण वैकल्पिक सडकमा रहेको जीर्ण फलामे पुलको मर्मत कार्य सम्पन्न भएसँगै यात्रु र सवारी चालकले सहज रूपमा आवतजावत गर्न थालेका छन्।

वागमती प्रदेश यातायात पूर्वाधार निर्देशनालय, हेटौंडाका प्रमुख नवीन सिंहका अनुसार असार २७ गतेदेखि सुरु गरिएको पुल मर्मतको काम करिब एक सातामै सम्पन्न गरिएको हो। मर्मत कार्य चलिरहँदा सवारीसाधनलाई पुलमुनि खोलामा निर्माण गरिएको अस्थायी डाइभर्सनमार्फत सञ्चालन गरिएको थियो।

निर्देशनालयका अनुसार मर्मतका क्रममा भैंसे–भीमफेदी सडकखण्डमा प्रयोगविहीन अवस्थामा रहेको फलामे ट्रस पुलका संरचनालाई झिकेर चिसापानी पुलमा जडान गरिएको हो। करिब ४० वर्षअघि निर्माण भएको पुलका काठ मक्किनुका साथै फलामका पाता उप्किएपछि पुल जोखिमपूर्ण अवस्थामा पुगेको थियो।

तीन मिटर चौडा र ४० मिटर लामो उक्त पुलबाट दैनिक दुई हजारभन्दा बढी सवारीसाधन आवतजावत गर्ने गरेका छन्। पुल मर्मत सम्पन्न भएसँगै हेटौंडा–काठमाडौं वैकल्पिक मार्ग प्रयोग गर्ने यात्रु तथा सवारी चालकलाई उल्लेखनीय राहत मिलेको छ भने वर्षायाममा समेत आवागमन थप सुरक्षित र सहज हुने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.