हेटौंडा–१५ नयाँबस्तीमा टेलर दुर्घटना, चालक र सहचालक घाइते

हेटौंडा, असोज ५ गते । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५, नयाँबस्ती सयफुटस्थित महेन्द्र राजमार्गमा स्याउ बोकेको टेलर गाडी दुर्घटना हुँदा चालक र सहचालक घाइते भएका छन्।

बुधबार राति करिब ४ः३० बजे वीरगन्जबाट स्याउ लोड गरी काठमाडौं जाँदै गरेको मधेश प्रदेश ०३–००१ ख ९०६८ नम्बरको टेलर गाडी दुर्घटनामा परेको हो। चालक निदाएका कारण गाडी अनियन्त्रित भई सडकबाट करिब १० फिट तल खोलाको बगरमा पल्टिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा टेलर चालक पर्साको वीरगन्ज महानगरपालिका–२१ परवानीपुर बस्ने करिब २५ वर्षीय नरेश महतोको बायाँ खुट्टामा चोट लागेको छ। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

त्यस्तै, सहचालक सोही स्थानका करिब २८ वर्षीय रमेश कुशवाहको ढाड र खुट्टामा चोट लागेको छ। उनको अवस्था मध्यम रहेको र उपचारका लागि हेटौंडा अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

दुर्घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी रातोमाटे, मकवानपुरबाट ट्राफिक प्रहरीसहितको टोली घटनास्थलमा पुगेको थियो। प्रहरीका अनुसार चालकको मादक पदार्थ सेवन परीक्षण गर्दा सेवन गरेको नदेखिएको र घटनासम्बन्धी अनुसन्धानका लागि गाडी नियन्त्रणमा राखिएको छ।

दुर्घटनामा परेको टेलर गाडी घटनास्थलमै रहेको भए पनि सडकमा कुनै अवरोध नभएको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.