काठमाडौँ । शनिबार गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै चैत्र ७ गते राप्रपाले आयोजना गरेको कार्यक्रममा उपस्थित भइ अराजक, उत्तेजक र गैरकानुनी क्रियाकलापमा सहभागी नहुन अनुरोध गरेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका नामबाट भोलि मिति २०८२/०१/०७ गतेका दिन प्रचलित कानून बमोजिम तोकिएका निषेधित क्षेत्र तोड्ने भनी सार्वजनिक भएका समाचार र अभिव्यक्तिहरु प्रति गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको कुरा विज्ञप्तिमा उल्लेख गरेको छ ।
संविधान र कानूनको ठाडो उल्लंघन गर्न प्रोत्साहित गर्ने र समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि सह्य नहुने र यस्तो गतिविधिमा संलग्न हुने जो सुकैलाई कानून बमोजिम कारवाही हुने व्यहोरा विज्ञप्ति मार्फत सूचित गरेको छ । साथै, विज्ञप्ति मार्फत समाजमा हिंसा फैलाउने कुनैपनि अराजक, उत्तेजक र गैरकानुनी क्रियाकलापमा संलग्न नहुन समेत गृह मन्त्रालयले सबैमा अनुरोध गरेको छ ।














