काठमाडौं, भदौ १९ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा प्रयोग भइरहेका स्वदेशी वा विदेशी अनलाइन तथा सामाजिक सञ्जाल प्लाटफर्महरूलाई ७ दिनभित्र अनिवार्य रूपमा दर्ता र सूचीकरण गर्न निर्देशन दिएको छ।
मन्त्रालयले बिहिबार एक सार्वजनिक सूचना जारी गर्दै सामाजिक सञ्जाल प्रयोगलाई व्यवस्थित गर्न आवश्यक तयारी स्वरूप सात दिनको समयसीमा तोकेको हो। उक्त सूचनामा भनिएको छ, “निर्धारित म्यादभित्र दर्ता नगरिएका सामाजिक सञ्जाल प्लेटफर्मलाई नेपालभित्र निष्क्रिय गराइनेछ।”
यसअघि सर्वोच्च अदालतको आदेश अनुसार सामाजिक सञ्जाल सञ्चालनपूर्व नेपाल सरकारको अनुमति र सूचीकरण आवश्यक हुने निर्णय भएको थियो। सोही आदेशका आधारमा मन्त्रालयले सूचना जारी गरेको हो।
अब तोकिएको समयसीमा भित्र दर्ता नगरेमा नेपालका दूरसञ्चार प्रदायकलाई निर्देशन दिई ती प्लेटफर्महरू बन्द गरिने मन्त्रालयले स्पष्ट पारेको छ।














