परदेशी नेपालीको पीडामा हर्क सम्पाङ भावुक : “घरको कि घाटको जीवन ?”

धरान, भदौ २९ गते । धरान उपमहानगरपालिका मेयर हर्क सम्पाङले परदेशी नेपाली श्रमिकको पीडालाई उजागर गर्दै सामाजिक सञ्जालमा मार्मिक टिप्पणी गरेका छन्। विदेशमा पसिना बगाउँदै घरपरिवारको यादमा रातभर तड्पिन बाध्य नेपाली छोराछोरीहरूको प्रतिनिधि तस्वीर हेरेर आफू भावुक भएको उनले उल्लेख गरेका छन्।

सम्पाङले भनेका छन्, “दिनभर काममा जोतिएर बेलुकी आफ्ना साना नानी र अर्धाङ्गिनीको यादमा कोल्टे फेर्ने त्यो अभागी नेपाली छोराको नियति देखिन्छ। जसलाई भोट दियो, उसैले चोटै चोट दिएपछि देशमै बस्ने र गरिखाने वातावरण नबनेर विदेशिनुपर्ने बाध्यता सबै नेपालीको छ।” 

उनले विदेशमा रहँदा घरको सम्झनामा आँसु पोख्दै, भविष्यको कल्पनाको भारी बोकेर बाँच्न बाध्य हजारौँ नेपालीको कथालाई ‘तपस्वीहरुको कथा’ को संज्ञा दिएका छन्।

सम्पाङले स्वदेशमा परिवार परदेशी श्रीमान् वा छोरालाई सम्झेर आँशु झार्न बाध्य हुने अवस्थालाई पनि दर्दनाक भन्दै प्रश्न गरेका छन् – “नेपालीको जीवन कहाँको जीवन ? घरको कि घाटको ? देशको कि परदेशको ?”

देशमा रोजगारी र काम गर्ने वातावरण बनाउन नसक्दा युवाहरू बाकसमा फर्कनुपर्ने अवस्थासम्म पुग्नु दुःखद भएको बताउँदै सम्पाङले यस्ता सपना रुपी जीवनलाई वास्तविक जीवनमा बदल्ने चेतनाको अभियान चलाउने संकल्प व्यक्त गरेका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.