जेन-जी आन्दोलनबाट हेटौडा उपमहानगरपालिकामा व्यापक क्षति, बिस्तारै सेवा सुचारु गर्न थालियो

हेटौडा, अशोज १ गते । यही भदौ २४ गते जेन-जी युवा आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीका कारण हेटौडा उपमहानगरपालिकाका विभिन्न कार्यालयहरूमा व्यापक क्षति भएको छ। नगर प्रवक्ता तथा वडा नं. १ का वडाध्यक्ष सबिन न्यौपानेका अनुसार नगरपालिकाको राजस्व शाखा, न्यायिक समिति, योजना महाशाखा, सूचना प्रविधि शाखा र स्वास्थ्य शाखा पूर्णरूपमा जलेर नष्ट भएका छन्।

त्यस्तै, प्रमुख प्रशासकीय अधिकृत, प्रमुख तथा उपप्रमुखको कार्यकक्षमा समेत तोडफोड र आगजनी भएको छ। नगरपालिकाका करिब ११ वटा साना सवारी साधन, २४ वटा मोटरसाइकल तथा स्कुटर जलेर नष्ट भएका छन्। साथै, एक टिफर, एक जेसीबी र एक सवारी साधनमा क्षति पुगेको छ।

हेटौडा उपमहानगरपालिकाअन्तर्गतका वडा नं. ३, ४, ११,१५, १९ र ४ मा तोडफोड तथा आगजनी भएको छ भने वडा नं. १ र १३ को कक्षमा सामान्य क्षति पुगेको नगर प्रवक्ता न्यौपानेले जानकारी दिएको छ ।

“तल्लो तहको सरकार भनेको नागरिकसँग प्रत्यक्ष जोडिने सरकार हो। त्यसैले बिस्तारै सेवा प्रवाहलाई सुचारु गर्दैछौं,” न्यौपानेले भने। उनका अनुसार सरसफाइ, क्षतिको मुचुल्का तयार गर्ने र क्षतिग्रस्त कार्यकक्षहरूमा आवश्यक सामग्री जुटाउने काम भइरहेको छ।

नगरपालिकाले तोडफोड कम भएको वा नभएको वडामा भने सेवाप्रवाह सुचारु भइसकेको जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.