काठमाडौं, कार्तिक २१ गते । मुलुकमा बढ्दो राजनीतिक अन्योल, अस्थिरता र जनआक्रोशको पृष्ठभूमिमा तीन वामपन्थी धारका शीर्ष नेताहरू— नेकपा महासचिव विप्लव सी, नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसाल र प्रगतिशील राष्ट्रिय अभियानका संयोजक जनार्दन शर्माले संयुक्त प्रेस वक्तव्य जारी गर्दै वाम, प्रगतिशील र देशभक्त शक्तिहरूबीच बृहत् मोर्चाबन्दीको पहल थालेका छन्।
वक्तव्यमा हाल सत्तासिन नेताहरू गैरजिम्मेवार बन्दै गएको र पुराना दलहरू सुधारका प्रयासमा असफल भएको आरोप लगाइएको छ। दलहरूको कमजोर नेतृत्व र गैरउत्तरदायी व्यवहारका कारण जनताको विश्वास गुम्दै गएको उल्लेख गर्दै वक्तव्यमा भनिएको छ, “गत भदौ २३ गतेको जेन जि आन्दोलन र २४ गतेको विध्वंश रोक्न दलहरू असफल भए, जसले मुलुकलाई अझ अन्योल र संकटतर्फ धकेल्यो।”
तीन नेताहरूले जारी गरेको संयुक्त वक्तव्यमा राष्ट्रियता, लोकतन्त्र र जनअधिकार एकसाथ खतरामा परेको उल्लेख गर्दै अब पुरानै संरचना र तरिकाबाट समाधान सम्भव नभएको निष्कर्ष निकालिएको छ। उनीहरूले भनेका छन्, “पुरानै बाटो हिँडेर नयाँ गन्तव्यमा पुगिन्न, त्यसैले आजको कार्यभार भनेको प्रगतिशील र लोकतान्त्रिक दिशामा जनतालाई गोलबन्द गर्दै अगाडि बढ्नु हो।”
वक्तव्यमार्फत विप्लव, भुसाल र शर्माले देशमा उत्पन्न राजनीतिक गतिरोध चिर्नका लागि सबै प्रतिबद्ध कम्युनिस्ट, समाजवादी, प्रगतिशील र देशभक्त शक्तिहरूबीच संवाद, छलफल र सहकार्यको आह्वान गरेका छन्। उनीहरूले वाम एकता र सहकार्यलाई “ऐतिहासिक आवश्यकता” का रूपमा व्याख्या गरेका छन्।
संयुक्त वक्तव्यले आगामी दिनमा मुलुकको स्थायित्व, राष्ट्रियता र जनअधिकारको सुरक्षाका लागि वाम प्रगतिशील मोर्चा गठनको सम्भावना बलियो बन्दै गएको संकेत गरेको छ।













