काठमाडौं, कात्तिक २६ गते । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री वैज्ञानिक डा. महावीर पुनले सामाजिक सञ्जालमार्फत त्रिभुवन विश्वविद्यालय, किर्तिपुर परिसरभित्र करिब ३५० रोपनी क्षेत्रफलमा फैलिएको जंगल क्षेत्रमा श्रमदान गर्न स्थानीय बासिन्दा र विश्वविद्यालयका विद्यार्थीहरुलाई आह्वान गरेका छन्।
उहाँको आह्वानपछि सुरू गरिएको श्रमदान अभियान अन्तर्गत करिब २५ दिनको निरन्तर प्रयासमा श्रमदाताहरूद्वारा त्यहाँको झाडी लगभग पूर्ण रूपमा फडानी गरिएको छ। अभियानमा सहभागी हुने अधिकांश श्रमदाताहरू बाहिरी जिल्लाबाट आएका स्वयंसेवक रहेका छन्।
डा. पुनका अनुसार अब उक्त क्षेत्रलाई हरियाली, सफाइ र सार्वजनिक उपयोगका लागि सुन्दर पार्कका रूपमा विकास गर्ने योजना बनिरहेको छ। यस परियोजनाबाट विश्वविद्यालय परिसरभित्रको वातावरण सुधार हुनुका साथै विद्यार्थी र स्थानीय समुदायका लागि अध्ययन र विश्राम दुवैका दृष्टिले लाभदायक स्थल निर्माण हुने अपेक्षा गरिएको छ।
उनले श्रमदानमा सहभागी सबैप्रति धन्यवाद व्यक्त गर्दै आगामी चरणमा पार्क निर्माणका लागि पनि निरन्तर सहयोग र सहभागिताको आग्रह गर्नुभएको छ।














