लोकतन्त्रको नाममा संगठित लुटतन्त्र ? बुद्धछिरिङ मोक्तानको कडा राजनीतिक विश्लेषण

काठमाडौँ, फागुन १५ गते । राजनीतिक विश्लेषक बुद्धछिरिङ मोक्तानले नेपालको समकालीन राजनीतिमाथि गम्भीर प्रश्न उठाउँदै लोकतन्त्रको नाममा भइरहेको शक्ति दुरुपयोग अब धेरै समय लुक्न नसक्ने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरिएको आफ्नो स्टाटसमा उनले लोकतन्त्रलाई जनताको अधिकार सुनिश्चित गर्ने माध्यमभन्दा पनि सीमित समूहले शक्ति र सम्पत्ति आर्जन गर्ने साधन बनाइँदै लगिएको आरोप लगाएका छन् ।

उनका अनुसार राजनीतिक घोटालामार्फत सत्ता हात पार्ने र त्यसैलाई व्यक्तिगत लाभको साधन बनाउने प्रवृत्तिले देशलाई संस्थागत रूपमा कमजोर बनाइरहेको छ । अझ खतरनाक पक्ष के छ भने, यस्ता अभ्यासलाई संरचनागत रूपमा सुरक्षित गरिँदा त्यसविरुद्ध उठ्ने आलोचनात्मक आवाज दबाउने प्रयास भइरहेको छ ।

मोक्तानले तथाकथित “नयाँ” र “पुराना” राजनीतिक शक्तिहरूबीच व्यवहारिक भिन्नता हराउँदै गएको टिप्पणी गरेका छन् । उनले रबि लामिछाने र बालेन जस्ता पात्रहरूलाई ‘परिवर्तन’को नाममा उचालिँदा उनीहरूका विवादित पाटोहरू बेवास्ता गरिएको आरोप लगाएका छन् । यस प्रक्रियामा स्वर्णिम वाग्ले मात्र नभई कुनै समय क्रान्तिकारी कहलिएका पुस्प कमल दाहाल र बाबुराम भट्टराई जस्ता नेताहरू समेत संलग्न देखिएको जनआक्रोश बढ्दो रहेको उनले उल्लेख गरेका छन् ।

त्यसैगरी पुराना शक्ति केन्द्रहरू पनि कम घातक नरहेको भन्दै उनले केपि शर्मा ओली,माधव कुमार नेपाल, राम चन्द्र पौडेल र शेर बहादुर देउबा जस्ता नेताहरूले दशकौँसम्म सत्ता चलाउँदा पनि देशलाई स्थिर दिशा दिन नसकेकोप्रति व्यापक असन्तोष रहेको बताएका छन् ।

उनको निष्कर्ष छ—आज लोकतन्त्र जनताको शासनभन्दा पनि सीमित समूहको अख्तियारी जस्तो देखिन थालेको छ । यदि राजनीति साँच्चै जनताका लागि हो भने त्यो पारदर्शी, उत्तरदायी र नैतिक हुनुपर्ने उनको जोड छ । अन्यथा, लोकतन्त्रको नाममा भइरहेको यो अभ्यास लोकतन्त्र नभई ‘संगठित लुटतन्त्र’ मात्र हुने चेतावनी उनले दिएका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.