न्यु डाइमण्डको शानदार प्रदर्शन : जनशक्तिलाई हराउँदै फाइनलमा प्रवेश

हेटौँडा, चैत ७ गते । हेटौंडामा जारी राष्ट्रिय महिला भलिबल प्रतियोगितामा काठमाडौँस्थित न्यु डाइमण्ड स्पोर्ट्स क्लबले उत्कृष्ट प्रदर्शन गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ। मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा हेटौंडा–१० स्थित चौरमा भइरहेको दोस्रो बृहत् खेलकुद, कृषि तथा पर्यटन महोत्सव अन्तर्गतको प्रतियोगितामा न्यु डाइमण्डले मधेश प्रदेशको जनशक्ति युवा क्लबलाई सोझो सेटमा पराजित गर्दै उपाधि नजिक पुगेको हो।

शनिबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा न्यु डाइमण्डले जनशक्तिमाथि पूर्ण नियन्त्रण जमाउँदै २५–१०, २५–१४ र २५–१८ को सहज जित निकाल्यो। खेलभरि न्यु डाइमण्डका खेलाडीहरुले समन्वय र आक्रामक खेल प्रस्तुत गर्दा जनशक्ति दबाबमा देखिएको थियो।

अर्कोतर्फ, लुम्बिनी प्रदेशको स्टेप भलिबल क्लब पाल्पा र बागमती प्रदेशको केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठानबीचको दोस्रो सेमिफाइनल वर्षाका कारण प्रभावित बनेको छ। उक्त खेल अब आइतबार बिहान ८ बजे सञ्चालन गरिनेछ भने फाइनल खेल दिउँसो १ बजे हुने आयोजक समितिका नरेन्द्र मोक्तानले जानकारी दिएका छन्।

समूह चरणमा पनि न्यु डाइमण्डले प्रभावशाली प्रदर्शन गर्दै समूह ‘ए’ को विजेता बनेको थियो। जनशक्ति युवा क्लब भने समूह ‘बी’ बाट उपविजेता हुँदै सेमिफाइनलसम्म पुगेको थियो।

प्रतियोगिताको विजेता टोलीले ३ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले २ लाख रुपैयाँसहित पुरस्कार पाउनेछ। सेमिफाइनलमा पराजित हुने दुई टोलीलाई ५० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। उत्कृष्ट खेलाडीहरुलाई विधागत रूपमा ट्रफी, मेडल, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

मकवानपुर जिल्ला भलिबल सङ्घ र केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठानको व्यवस्थापनमा भइरहेको प्रतियोगितामा देशभरका ६ टोलीको सहभागिता रहेको छ। साथै, यही महोत्सवअन्तर्गत बुधबारदेखि शुक्रबारसम्म खुल्ला आमन्त्रित राष्ट्रिय तेक्वान्दो प्रतियोगिता पनि सञ्चालन हुने कार्यक्रम रहेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.