प्रधानमन्त्री कार्यालयको नाम दुरुपयोग गर्दै धम्की दिने व्यक्तिविरुद्ध कारबाही प्रक्रिया अघि बढाइयो

काठमाडौं,जेठ २ गते । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले आफ्नो कार्यालयको नाम दुरुपयोग गर्दै दैलेखको दुल्लु नगरपालिका–१३ का वडा सचिव कमल भण्डारीलाई धम्की दिने व्यक्ति विरुद्ध कानुनी कारबाही प्रक्रिया अघि बढाइएको जनाएको छ।

कार्यालयद्वारा जारी प्रेस विज्ञप्तिअनुसार प्रकाश खड्काको नाममा परिचित एक व्यक्तिले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको नाम जोडेर वडा सचिव भण्डारीलाई फोन मार्फत अभद्र व्यवहार तथा धाकधम्की दिएको अडियो सार्वजनिक भएपछि सरकारको गम्भीर ध्यानाकर्षण भएको हो।

विज्ञप्तिमा कानुन र स्थापित प्रशासनिक प्रक्रिया अनुसार जिम्मेवारी निर्वाह गरिरहेका राष्ट्रसेवक कर्मचारीमाथि पदीय मर्यादा विपरीत अमर्यादित शब्द प्रयोग गर्दै त्रास सिर्जना गर्ने गतिविधि निन्दनीय र अक्षम्य रहेको उल्लेख गरिएको छ।

घटना सार्वजनिक हुनासाथ प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सम्बन्धित सुरक्षा तथा अनुसन्धान निकायलाई उक्त व्यक्तिलाई तत्काल कानुनको दायरामा ल्याई आवश्यक कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिइसकेको जनाएको छ।

कार्यालयले सम्माननीय प्रधानमन्त्री सुशासन, विधिको शासन तथा राष्ट्रसेवक कर्मचारीको व्यावसायिक सुरक्षा र उच्च मनोबलप्रति प्रतिबद्ध रहेको स्पष्ट पारेको छ। विधिको शासनलाई चुनौती दिने जो–कोहीलाई कानुन बमोजिम कडा कारबाही गरिने पनि विज्ञप्तिमा उल्लेख छ।

त्यस्तै, कुनै पनि व्यक्तिले प्रधानमन्त्री, प्रधानमन्त्रीको सचिवालय वा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको नाम लिएर फोन, भेटघाट वा अन्य माध्यमबाट धम्की दिने, बार्गेनिङ गर्ने वा अनुचित दबाब सिर्जना गर्ने प्रयास गरेमा भ्रममा नपर्न कार्यालयले सर्वसाधारण तथा कर्मचारीलाई आग्रह गरेको छ।

यस्ता घटनाबारे तत्काल नजिकको सुरक्षा निकाय वा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई जानकारी गराउन पनि अपिल गरिएको छ। साथै सरकारी निकाय, स्थानीय तह तथा राष्ट्रसेवक कर्मचारीलाई प्रधानमन्त्री कार्यालय वा सचिवालयको नाम जोडेर आउने कुनै पनि शंकास्पद फोन, सन्देश वा संवादलाई आधिकारिक माध्यमबाट प्रमाणीकरण गरेर मात्र काम अघि बढाउन विशेष आग्रह गरिएको छ।

प्रवक्ता सह-सचिव हेमराज अर्यालद्वारा जारी विज्ञप्तिमा राज्यको प्रशासनिक गरिमा र संस्थागत साख जोगाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सदैव सजग र प्रतिबद्ध रहेको उल्लेख गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.