झापा, जेठ १७ गते। झापाको मेचीनगर नगरपालिका–६ मेचिडाँडाबाट प्रहरीले खैरो हिरोइनसहित एक जनालाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाको संयुक्त प्रहरी टोलीले भारतबाट मेची खोलाको बाटो हुँदै नेपालतर्फ पैदल आउँदै गरेका एक युवकलाई शंकास्पद अवस्थामा जाँच गर्दा लागूऔषध बरामद गरेको हो।
पक्राउ पर्नेमा काठमाडौँको शंखरापुर नगरपालिका–८ निवासी ३२ वर्षीय रोशन कार्की रहेका छन्। प्रहरीका अनुसार उनको साथबाट सेतो प्लास्टिकमा बेरिएको खैरो हिरोइन जस्तो देखिने लिसाइलो पदार्थ फेला परेको थियो। डिजिटल तराजुमा तौल गर्दा प्लास्टिकसहित ५३ ग्राम ८०० मिलिग्राम र प्लास्टिक बाहेक ४८ ग्राम ६० मिलिग्राम लागूऔषध बरामद भएको जनाएको छ।
प्रहरीले कार्कीको साथबाट एक थान iPhone 16 Pro Max मोबाइल फोन तथा नगद रु ८ हजारसमेत बरामद गरेको छ।
पक्राउ परेका कार्कीलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको प्रहरीले जनाएको छ।














