हेटौंडा, असार १७ गते । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान नेतृत्वको टोलीले हेटौंडा नगरभित्र सञ्चालनमा रहेका विभिन्न विकास आयोजनाहरूको स्थलगत अनुगमन गरेको छ। अनुगमनका क्रममा महिलामैत्री पार्क, प्रगति माध्यमिक विद्यालय भवन निर्माण, तामाङ सङ्ग्रहालय तथा टोनी हेगन पार्कलगायतका योजनाहरूको निर्माण प्रगति, गुणस्तर तथा कार्यान्वयन अवस्थाबारे अवलोकन गरिएको थियो।

स्थलगत अनुगमन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख ललितघनसहित सम्बन्धित प्रतिनिधिहरूको सहभागिता रहेको थियो। साथै हेटौंडा उपमहानगरपालिकाकी नगरप्रमुख मीनाकुमारी लामा लगायत अन्य प्रतिनिधि तथा सरोकारवाला पक्षहरूको पनि उपस्थिति रहेको थियो।

अनुगमन टोलीले हेटौंडा नगरभित्र सञ्चालन भइरहेका विकास निर्माणका योजनाहरूको वर्तमान अवस्था, कार्यान्वयन प्रक्रिया तथा आगामी कार्ययोजनाबारे जानकारी लिएको थियो। कार्यक्रममा निर्माणाधीन योजनाहरूलाई निर्धारित समयमै गुणस्तरीय रूपमा सम्पन्न गर्न आवश्यक समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा समेत छलफल गरिएको जनाइएको छ।
स्थानीयस्तरमा सञ्चालन भइरहेका पूर्वाधार, शैक्षिक तथा पर्यटन प्रवर्द्धनसँग सम्बन्धित योजनाहरूले हेटौंडा नगरको समग्र विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ।














