हेटौंडा, असार १७ गते । त्रिभुवन राजमार्ग अन्तर्गत भीमफेदी–हेटौंडा सडकखण्डमा त्रिपाल नछोपेर कच्चापदार्थ ढुवानी गरिरहेको एक मालबाहक ट्रकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका अनुसार बुद्धचोक क्षेत्रमा म.प्र. ०१००१ ख ०३७७ नम्बरको ट्रक नियन्त्रणमा लिइएको हो। उक्त ट्रकले शिवम् सिमेन्ट उद्योगका लागि कच्चापदार्थ बोकेको भए पनि सुरक्षा मापदण्डअनुसार त्रिपाल प्रयोग नगरी सडकमा सञ्चालन गरेको पाइएपछि कारबाही गरिएको प्रहरीले जनाएको छ।
प्रहरी निरीक्षक रमेश बिष्टका अनुसार त्रिभुवन राजमार्गको उक्त खण्ड अत्यधिक व्यस्त सडक भएकाले यस्ता लापरबाहीले दुर्घटनाको जोखिम बढाउने गर्दछ। विशेषगरी दुईपाङ्ग्रे सवारी, यात्रुबाहक गाडी तथा एम्बुलेन्सको उच्च आवागमन हुने क्षेत्रमा खुला रूपमा कच्चापदार्थ ढुवानी गर्दा धुलो, ढुंगा तथा अन्य सामग्री सडकमा खस्ने खतरा रहने भएकाले सर्वसाधारणबाट समेत गुनासो आएको थियो।
स्थानीयको गुनासोपछि ट्राफिक प्रहरीले निगरानी बढाउँदै उक्त ट्रकलाई नियन्त्रणमा लिएको जनाएको छ। ट्राफिक नियम उल्लंघन तथा लापरबाहीपूर्ण ढुवानी गरेको अभियोगमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।
स्थानीय स्रोतका अनुसार ट्रकमा रहेको कच्चापदार्थ भीमफेदी गाउँपालिका–स्थित बाघझोर क्षेत्रबाट उत्खनन गरिएको हो। सो क्षेत्रमा पछिल्लो समय नियमविपरीत उत्खनन तथा ढुवानी भइरहेको भन्दै स्थानीयले निरन्तर गुनासो गर्दै आएका छन्।
यसअघि पनि गाउँपालिकाले नियम उल्लंघन गरेको भन्दै सम्बन्धित सवारीसाधनलाई केही समय नियन्त्रणमा लिएर चेतावनीसहित छोडेको स्रोतले जनाएको छ।














