हराएको मूर्तिको टाउको र अतिक्रमणमा परेको गढी दरबार : मकवानपुरको इतिहास माथि कसको नजर?

हेटौँडा, भदौ २ गते । मकवानपुरको ऐतिहासिक तथा पुरातात्त्विक महत्व बोकेको मकवानपुरगढीको सम्पदा संरक्षणप्रति गम्भीर प्रश्न उठाउँदै ‘सेवा सहयोग र आवाजमा हामी’का अध्यक्ष तथा सामाजिक अभियन्ता विशालराज महतले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

महतले मकवानपुरगढीको वंशगोपाल मन्दिरमा रहेको बहुमूल्य धातुको मूर्तिको शिरभाग हराएको विषयसँगै ऐतिहासिक गढी दरबारसँग जोडिएको जग्गा अतिक्रमणको प्रश्नसमेत उठाएका छन्। उनले हराएको मूर्तिको खोजी तथा अनुसन्धानको अवस्था सार्वजनिक गर्न र गढी दरबार तथा सम्पदा क्षेत्रको जग्गाको वास्तविक सीमाना यकिन गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

ऐतिहासिक मकवानपुरगढीको वंशगोपाल मन्दिरमा रहेको कृष्णको मूर्ति सेनकालीन इतिहाससँग जोडिएको मानिन्छ। ऐतिहासिक विवरणअनुसार उक्त मूर्ति अष्टधातुबाट बनेको र त्यसमा सुनको लेपनसमेत रहेको उल्लेख पाइन्छ। यस्तो ऐतिहासिक तथा पुरातात्त्विक महत्व बोकेको मूर्तिको शिरभाग हराउनु सामान्य घटना नभएको महतको भनाइ छ।

उनले मूर्तिको वास्तविक मूल्य त्यसमा प्रयोग भएको धातु वा सुनको मूल्यमा मात्र सीमित नरहेको उल्लेख गर्दै यससँग जोडिएको इतिहास, कला, धार्मिक परम्परा र स्थानीय जनआस्थाको समेत संरक्षण हुनुपर्ने बताएका छन्।

मूर्तिको हराएको शिरभागबारे पुरातत्व विभाग र प्रहरीले अनुसन्धान गरिरहेको बताइए पनि अनुसन्धान कहाँसम्म पुगेको छ, मूर्ति कसरी हरायो र यसको खोजीमा के प्रगति भएको छ भन्ने विषयमा सम्बन्धित निकायले जनतालाई स्पष्ट जानकारी दिनुपर्ने महतले बताएका छन्।

मकवानपुरगढीका स्थानीयबीच वंशगोपालको मूर्तिसँग जोडिएको विभिन्न जनविश्वाससमेत अझै जीवित रहेको उनले उल्लेख गरेका छन्। स्थानीय जनश्रुतिअनुसार भगवान् कृष्ण रातको समयमा मन्दिरबाट बाहिर निस्कने र बिहान फर्कने तथा उहाँको पाउमा तोरीका फूल टाँसिएको देखिने विश्वास रहेको बताइन्छ। यही जनविश्वासका कारण मूर्तिलाई फलामको साङ्लाले बाँधेर राखिएको भन्ने स्थानीय कथा रहेको छ।

यद्यपि इतिहासविद्हरूले मूर्ति अग्लो भएकाले भूकम्पका कारण ढल्न सक्ने अवस्थालाई ध्यानमा राखेर साङ्लाले बाँधिएको हुनसक्ने फरक व्याख्या गर्ने गरेका छन्। किंवदन्ती र ऐतिहासिक व्याख्या फरक भए पनि मूर्ति मकवानपुरगढीको इतिहास र स्थानीय जनजीवनसँग गहिरोसँग जोडिएको सम्पदा भएको महतले बताएका छन्।

मूर्ति हराएको विषयसँगै उनले गढी दरबार तथा त्यससँग जोडिएको ऐतिहासिक जग्गाको संरक्षणबारे पनि प्रश्न उठाएका छन्। ऐतिहासिक दरबार तथा गढी परिसर वरिपरिको जग्गाको सीमाना, स्वामित्व र प्रयोगको अवस्था स्पष्ट हुनुपर्ने उनको माग छ।

ऐतिहासिक सम्पदाको नाममा रहेको वा संरक्षण क्षेत्रभित्र पर्ने जग्गा व्यक्तिको नाममा पुगेको, भोगचलन भइरहेको वा अतिक्रमण भएको भए त्यसबारे निष्पक्ष छानबिन आवश्यक रहेको महतले बताएका छन्।

उनले गढी दरबारको जग्गा कहाँसम्म हो, कति क्षेत्रफल सरकारी वा सार्वजनिक अभिलेखमा छ, हाल नापी तथा कित्ताकाटको अवस्था कस्तो छ र कुनै व्यक्तिको नाममा दर्ता भएको भए त्यसको प्रक्रिया के हो भन्ने विषयमा स्पष्ट अध्ययन गर्नुपर्ने बताएका छन्।

महतका अनुसार ऐतिहासिक मूर्ति हराउनु र सम्पदा क्षेत्रको जग्गा अतिक्रमणमा पर्नु फरक घटना जस्तो देखिए पनि दुवैको मूल प्रश्न सम्पदा संरक्षणसँग जोडिएको छ। मूर्ति सुरक्षित नभए सम्पदा सुरक्षित नहुने र दरबारको जग्गा सुरक्षित नभए दरबारको भविष्यसमेत सुरक्षित नहुने उनको तर्क छ।

उनले मकवानपुरगढीको सम्पदा संरक्षणलाई मन्दिरको पूजा वा दरबारको जीर्ण संरचनाको संरक्षणमा मात्र सीमित गर्न नहुने बताएका छन्। सम्पदासँग सम्बन्धित जग्गा, संरचना, मूर्ति, अभिलेख, पुराना तस्बिर तथा स्थानीय इतिहासलाई समेत समेटेर एकीकृत संरक्षण योजना बनाउनुपर्ने उनको भनाइ छ।

महतले हराएको मूर्तिको खोजी तथा प्रहरी अनुसन्धानको अवस्थाबारे सार्वजनिक जानकारी दिनुपर्ने, मूर्तिको पुरानो तस्बिर तथा प्रमाण सुरक्षित र सार्वजनिक गर्नुपर्ने, मकवानपुरगढी दरबार तथा सम्पदा क्षेत्रको जग्गाको सीमाना यकिन गर्नुपर्ने र पुराना नक्सा, लालपुर्जा, नापी तथा मालपोत अभिलेख अध्ययन गर्नुपर्ने माग गरेका छन्।

त्यस्तै, सम्भावित अतिक्रमणबारे निष्पक्ष छानबिन गरी कानुनअनुसार जग्गा संरक्षण गर्नुपर्ने, गढी परिसरमा रहेका पुरातात्त्विक सामग्रीको डिजिटल अभिलेख तयार गर्नुपर्ने र स्थानीय समुदायलाई सम्पदा संरक्षणमा सहभागी गराउनुपर्नेमा उनले जोड दिएका छन्।

मकवानपुरगढी नेपालका महत्वपूर्ण ऐतिहासिक कालखण्डको साक्षी रहेको उल्लेख गर्दै महतले अहिलेको पुस्ताले आफ्नो इतिहास र सम्पदा संरक्षण गर्न नसके भावी पुस्ताले वास्तविक इतिहास बुझ्न कठिन हुने बताएका छन्।

उनले सम्बन्धित निकायसँग हराएको मूर्ति खोजी गर्न, गढी दरबारको जग्गा संरक्षण गर्न र अतिक्रमण भएको भए त्यसको निष्पक्ष छानबिन गर्न आग्रह गरेका छन्।

मकवानपुरगढीको सम्पदा कुनै व्यक्ति वा पुस्ताको निजी सम्पत्ति नभई मकवानपुरको इतिहास तथा नेपालको साझा सम्पदा भएकाले यसको संरक्षणमा राज्य, स्थानीय तह, सम्बन्धित निकाय र स्थानीय समुदाय सबै जिम्मेवार बन्नुपर्ने उनको भनाइ छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.