चितवन , भदौ १५ गते । विनाशकारी रसुवा बाढीमा परी ज्यान गुमाएका व्यक्तिहरूको सम्झनामा जिल्ला प्रशासन कार्यालय चितवनले श्रद्धाञ्जली तथा शोकसभा आयोजना गर्ने भएको छ।
जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार भोलि साँझ ६ बजे भरतपुर महानगरपालिका–१, देवीघाटस्थित शव व्यवस्थापन स्थलमा श्रद्धाञ्जली तथा शोकसभा आयोजना गर्न लागिएको हो।
बाढीका कारण ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको प्रशासनले जनाएको छ।
जिल्ला प्रशासन कार्यालय चितवनले श्रद्धाञ्जली कार्यक्रममा सहभागी हुन इच्छुक संघ–संस्था, नागरिक तथा सम्बन्धित सबैलाई उपस्थितिका लागि अनुरोध गरेको छ।
कार्यक्रममा सहभागी भई विपद्का कारण ज्यान गुमाएका व्यक्तिहरूप्रति सम्मान तथा श्रद्धाञ्जली अर्पण गर्न प्रशासनले सबैमा आग्रह गरेको छ।














