हेटौँडा, मंसिर १२ गते । राष्ट्रिय ख्रीष्टमस महासङ्घ नेपाल, शाखा कार्यालय मकवानपुरले आगामी मङ्सिर २० गते हेटौँडामा ख्रीष्टमस महोत्सव–२०८३ आयोजना गर्ने भएको छ। महोत्सवबारे जानकारी दिन महासङ्घले आज पत्रकार सम्मेलन आयोजना गरी कार्यक्रमको तयारी, उद्देश्य र गतिविधिबारे जानकारी गराएको हो।

यसअघि सीमित हलभित्र शुभकामना आदानप्रदान तथा अन्य कार्यक्रम गर्दै आएको महासङ्घले यस वर्ष भने फरक शैलीमा खुला मञ्चमा महोत्सव आयोजना गर्न लागेको जनाएको छ। हेटौँडा उपमहानगरपालिका–४ स्थित हुप्रचौरमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म महोत्सव सञ्चालन हुनेछ।

पत्रकार सम्मेलनमा महासङ्घ मकवानपुरका अध्यक्ष नवराज घलानले कार्यक्रमबारे जानकारी दिँदै महोत्सवमा ख्रीष्टमससँग सम्बन्धित भजन–कीर्तन, सांगीतिक प्रस्तुति, नृत्य तथा शुभकामना आदानप्रदानका कार्यक्रम समावेश गरिने बताए। कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको समेत सहभागिता रहने उनले जानकारी दिए।
पत्रकारहरूको जिज्ञासामा अध्यक्ष घलानले महोत्सवमा भजन–कीर्तनसँगै विविध सांस्कृतिक तथा सांगीतिक प्रस्तुतिहरू पनि रहने स्पष्ट पारे। उनका अनुसार जिल्ला स्तरीय रूपमा आयोजना हुन लागेको महोत्सव सम्पन्न गर्न करिब ६ देखि ७ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ।
महोत्सवका लागि हेटौँडा उपमहानगरपालिकाबाट करिब २ लाख रुपैयाँ सहयोग अपेक्षा गरिएको र बाँकी रकम जिल्लाका विभिन्न चर्च तथा सम्बन्धित संस्थाहरूबाट सहयोग जुटाउने योजना रहेको उनले बताए। कार्यक्रममा स्थानीय कलाकारलाई प्राथमिकता दिइने र सम्भव भएसम्म राष्ट्रिय स्तरका कलाकार तथा सांगीतिक समूहलाई समेत सहभागी गराउने विषयमा छलफल भइरहेको अध्यक्ष घलानले जानकारी दिए।

कार्यक्रमका संयोजक दर्शन पाख्रिनले महोत्सवको मुख्य उद्देश्य येशू ख्रीष्टको जन्मको सन्देश र उहाँले दिनुभएको प्रेम, क्षमा, उद्धार तथा मानवताको सन्देश मकवानपुर जिल्लाका विभिन्न समुदायसम्म पुर्याउनु रहेको बताए। ख्रीष्टमसलाई केवल धार्मिक समुदायभित्र सीमित नराखी खुला स्थानमा सामूहिक रूपमा मनाउँदै आपसी सद्भाव र शुभकामना आदानप्रदान गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको उनको भनाइ थियो।

त्यस्तै, महासङ्घ मकवानपुरका सल्लाहकार रामकृष्ण पन्तले ख्रीष्टमसलाई केवल क्रिश्चियन समुदायले मनाउने पर्वका रूपमा मात्र बुझ्न नहुने धारणा राखे। येशू ख्रीष्टको जन्मसँग जोडिएको सन्देश सम्पूर्ण मानव जातिका लागि प्रेम, शान्ति, मुक्ति र उद्धारको सन्देश भएको उनले बताए।
उनले येशू ख्रीष्ट कुनै एउटा समुदाय वा धर्म विशेषका लागि मात्र नभई सम्पूर्ण मानव जातिको उद्धारका लागि आउनुभएको उल्लेख गर्दै उहाँको सुसमाचार बाँड्नु धर्म प्रचारभन्दा पनि महत्वपूर्ण सन्देश र विचार प्रवाह गर्ने माध्यम भएको स्पष्ट पारे। ख्रीष्टमसको आनन्द र सन्देशलाई चर्चभित्र मात्र सीमित नराखी हुप्रचौरजस्तो सार्वजनिक स्थलबाट सबै समुदायमाझ पुर्याउने उद्देश्यले खुला महोत्सव आयोजना गर्न लागिएको उनले बताए।
पत्रकार सम्मेलनको समापन महासङ्घ मकवानपुरका अध्यक्ष नवराज घलानले गरेका थिए। कार्यक्रममा महासङ्घका जिल्ला तथा केन्द्रीय तहका प्रतिनिधि, विभिन्न चर्चका प्रतिनिधि र सञ्चारमाध्यममा आबद्ध पत्रकारहरूको उपस्थिति रहेको थियो।
मङ्सिर २० गते आयोजना हुने ख्रीष्टमस महोत्सवले धार्मिक तथा सांस्कृतिक सद्भाव, आपसी एकता र शुभकामना आदानप्रदानलाई थप प्रवर्द्धन गर्ने आयोजकको अपेक्षा छ।













