दलित महिला सशक्तिकरण विधेयकमा जोड: हेटौंडाकी मेयर मिना कुमारी लामाले समानता र विश्वासको खाँचो औंल्याइन्

हेटौँडा,बैशाख ७ गते । मिना कुमारी लामा, हेटौंडा उपमहानगरपालिकाकी प्रमुखले दलित महिला सशक्तिकरण र समानताको विषय अझै पनि अपूरो रहेको बताएकी छन्। उनले सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै दशकौँदेखि बहस भइरहेको दलित समानता अझै व्यवहारमा लागू हुन नसकेकोमा चिन्ता व्यक्त गरेकी हुन्।

उनका अनुसार मानव सभ्यताकै कलंकका रूपमा रहेको छुवाछुत र विभेद अन्त्य गर्न अझै पनि आवश्यक कानुनी व्यवस्था अपुग रहेको छ। यही सन्दर्भमा बागमती प्रदेश दलित सशक्तिकरण विधेयक निर्माणका लागि भएको छलफलमा सहभागी हुँदा बाहिरी रूपमा उत्साह देखिए पनि भित्री रूपमा भने गहिरो दुःख महसुस भएको उनले उल्लेख गरेकी छन्।

कार्यक्रम दलित महिला संघ मकवानपुरद्वारा आयोजना गरिएको थियो। कार्यक्रममा सहभागी हुँदा महिलाको सशक्तिकरण, समानता र संरक्षणका विषयमा अझै कति समय बहस गर्नुपर्ने हो भन्ने प्रश्नले आफूलाई झस्काएको उनले बताइन्।

उनले नेपाली समाजमा सबै जात र समुदायका महिलाहरूले अझै पनि विभिन्न प्रकारका अन्याय सहनु परेको उल्लेख गर्दै दलित महिलाको अवस्था झन् जटिल रहेको बताइन्। “सम्मान मात्रै पर्याप्त हुँदैन, वास्तविक सशक्तिकरणका लागि विश्वास आवश्यक हुन्छ,” उनले भनिन्।

उनका अनुसार महिलामाथिको विश्वास केवल कानुनका शब्दमा सीमित नभई पुरुषको सोचमा गहिरो रूपमा स्थापित हुनुपर्ने आवश्यकता रहेको छ। नागरिकता लगायतका आधारभूत अधिकारमा महिलाले अझै पनि संघर्ष गर्नुपरेको भन्दै उनले अदालतका निर्णय कार्यान्वयन गर्न समेत महिलाहरूलाई कठिनाइ भोग्नुपरेको वास्तविकता औंल्याइन्।

मेयर लामाले महिलाहरू समाजको आधारशिला भएको उल्लेख गर्दै आफूहरू कमजोर नभएको स्पष्ट पारिन्। तथाकथित जातीय विभेद अन्त्य गर्दै समानताको आधारमा कानुन निर्माण गर्न अझै पनि दबाब दिन आवश्यक रहेको उनले जोड दिइन्।

उनले निष्कर्षमा नेपाली समाजमा महिलाले अझै लामो समयसम्म आफ्नो अस्तित्व र अधिकारका लागि संघर्ष गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै समानता स्थापित गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको बताइन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.