सडकमा सुत्केरी व्यथा लागेकी महिलालाई सहयोग गर्ने प्रहरी जवान पुरस्कृत

धनगढी। कैलालीको गोदावरी नगरपालिका-१ मा सडकमा व्यथाले छटपटाइरहेको अवस्थामा भेटिएकी एक महिलालाई सुत्केरी गराउन सहयोग गर्ने प्रहरी जवान चन्द्रिका देउवालाई पुरस्कृत गरिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीले बुधबार देउवालाई प्रशंसापत्र र रेकर्डमा जाने गरी पुरस्कृत गरेको हो।

कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) बाल नरसिंह राणाले प्रहरी चौकी खैरानामा कार्यरत प्रहरी जवान देउवाले सडकमा छटपटाइरहेको अवस्थामा गर्भवती महिलालाई सुरक्षित प्रसूति गराउन सघाएर उत्कृष्ट कार्य गरेकोले पुरस्कृत गरिएको बताए। देउवाले मंगलबार गोदावरी नगरपालिका-१ को वसन्तपुरमा सडकमा व्यथाले छटपटाइरहेकी बझाङको थलारा गाउँपालिकाकी चन्द्रा आचार्यलाई प्रसूति हुन सघाएकी थिइन्।

देउवाकै सहयोगमा आचार्यलाई सुरक्षित रूपमा पद्मा अस्पताल पुर्‍याइएको थियो। हाल आमा र शिशु दुवैको अवस्था सामान्य रहेको छ।
एसपी राणाले संगठनमा उत्कृष्ट काम गर्ने प्रहरी कर्मचारीलाई पुरस्कृत र गलत गर्नेलाई कारबाहीको दायरामा ल्याइने बताए। प्रहरी जवान देउवाको यो कार्यको सामाजिक सञ्जालमा समेत प्रशंसा भइरहेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.