सुर्खेत, पुस २८ गते । प्रतिनिधिसभा निर्वाचन क्षेत्र सुर्खेत–१ यसपटक असाधारण राजनीतिक रोमाञ्चको केन्द्र बिन्दु बन्ने देखिन्छ। यहाँ नेपाली कांग्रेसका कार्यवाहक उपसभापति पूर्णबहादुर खड्का, नेकपा एमालेका धुर्वबहादुर शाही, नेपाली कम्युनिस्ट पार्टीका जितबहादुर राना र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य रवि किरण हमाल आमनेसामने चुनावी मैदानमा उत्रिएका छन्।
देशकै स्थापित दलका शीर्ष नेता देखि ‘जेनजी आन्दोलन’ मार्फत नयाँ पुस्ता प्रतिनिधित्वको प्रतीक बनेका रवि किरण हमालसम्मको उपस्थितिले सुर्खेत–१ निर्वाचनलाई अझै रोचक बनाएको छ।
राजनीतिक पृष्ठभूमिको दृष्टिले पनि यो क्षेत्र ऐतिहासिक महत्व राख्दछ। बहुदलीय प्रजातन्त्र पुनर्स्थापना भएदेखि कांग्रेस र एमालेले यहाँ वर्चस्व जमाउँदै आएका थिए। २०६४ सालको निर्वाचनमा समेत माओवादीले यहाँ सफलता पाउन सकेको थिएन। यस पटक, राप्रपाका उम्मेदवार हमालले यस्ता पुराना राजनीतिक दिग्गजहरूलाई चुनौती दिने तयारी गरेका छन्।
चुनावी समीक्षाले देखाउँछ कि पूर्णबहादुर खड्काप्रति मतदातामा अपेक्षित विकास र सुशासनको परिणाम नआएकोमा असन्तोष छ। त्यस्तै, एमालेका धुर्वबहादुर शाहीले निर्वाचित भए तापनि संसदमा प्रभावशाली भूमिका निर्वाह गर्न नसकेको आरोप सामना गरिरहेका छन्। नेपाली कम्युनिस्ट पार्टीका जितबहादुर रानाको प्रभाव क्षेत्र अपेक्षाकृत सीमित रहेको विश्लेषकहरूको भनाइ छ।
यसैबीच, सुशासन, राष्ट्रियता र जवाफदेहिताको मुद्दामा निरन्तर आवाज उठाउँदै आएका रवि किरण हमाल नयाँ पुस्ता र पुरानो राजनीतिक संस्कारबीचको चुनौतीको प्रतीक बनेका छन्। उनका समर्थकहरूले उनको उम्मेदवारीलाई “नयाँ सोच र राष्ट्रिय पहिचानको विकल्प” को रूपमा लिएका छन्।
देशभर जस्तै सुर्खेत–१ मा पनि मतदाताबीच नयाँ पुस्तालाई निर्वाचित गर्नुपर्ने चाहना तीव्र बन्दै गएको छ। पुराना राजनीतिक समीकरण र नयाँ आकांक्षाबीचको यो टकरावले निर्वाचन नतिजालाई अझै अनिश्चित बनाएको छ।














