हेटौंडा, साउन १० गते । हेटौंडा उपमहानगरपालिकाकी मेयर मीना कुमारी लामाले शान्त, भव्य र समृद्ध हेटौंडा निर्माणका लागि सबै नागरिकले आ–आफ्नो ठाउँबाट सकारात्मक सोच र साझा प्रतिबद्धतासहित योगदान दिनुपर्ने बताएकी छन्।
सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै मेयर लामाले शान्त, भव्य र समृद्ध हेटौंडाको सपना केवल सपना मात्र नभई एउटा दृढ सङ्कल्प रहेको उल्लेख गरेकी छन्।
उनले विकास र समृद्धिको यात्रामा एउटा सङ्कल्प पूरा हुँदै जाँदा नयाँ आवश्यकता र नयाँ जिम्मेवारी थपिँदै जाने उल्लेख गर्दै समृद्धिको अभियानलाई निरन्तरता दिन हरेक पुस्ताले नयाँ सङ्कल्प गर्नुपर्ने धारणा व्यक्त गरेकी छन्।
मेयर लामाले विगतमा देखिएका सपना र गरिएका सङ्कल्पहरूले आजको हेटौंडाको विकासको आधार निर्माण गरिरहेको उल्लेख गर्दै अबको पुस्ताले पनि त्यसलाई थप मजबुत बनाउँदै लैजानुपर्ने बताएकी छन्।
उनले शान्त र सकारात्मक सोचका साथ हेटौंडाको समृद्धिका लागि सबै नागरिकलाई आफ्नो-आफ्नो क्षेत्रबाट सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेकी छन्।
मेयर लामाको भनाइले विकास, सुशासन र समृद्धिको अभियानमा जनसहभागिता र साझा जिम्मेवारीको आवश्यकतालाई जोड दिएको छ।














