भीमफेदी, असोज २२ गते । सवारी दुर्घटना तथा क्षति न्यूनीकरण गर्ने उद्देश्यले मकवानपुरको भीमफेदीमा सवारी चालकको स्वास्थ्य परीक्षण तथा लागुऔषध सेवन (ला.प.से.) जाँच गरिएको छ।
जिल्ला जनस्वास्थ्य कार्यालय हेटौंडा, जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर, इलाका प्रहरी कार्यालय भीमफेदी र भीमफेदी प्राथमिक स्वास्थ्य केन्द्रको संयुक्त आयोजनामा भीमफेदी गाउँपालिका–६ स्थित चेकपोस्टमा स्वास्थ्य परीक्षण तथा लागुऔषध सेवन परीक्षण गरिएको हो। आज बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म गरिएको परीक्षणमा ६४ जना सवारी चालकको स्वास्थ्य परीक्षण तथा लागुऔषध सेवन जाँच गरिएको प्रहरीले जनाएको छ।
जाँचका क्रममा पाँच जना चालकको लागुऔषध सेवन परीक्षण पोजेटिभ देखिएको जनाइएको छ। पोजेटिभ देखिएका चालकले चलाएका पाँचवटै सवारीसाधनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय भीमफेदीमा राखिएको छ। परीक्षणमा प्र.२–०३–००१ च ४३४३ नम्बरको योद्धा पिकअपका चालक रौतहट चन्द्रपुर नगरपालिका–१० का ३० वर्षीय राजु चौधरी, प्र.२–०३–००१ च ४३३७ नम्बरको योद्धा पिकअपका चालक बारा निजगढ नगरपालिका–३ घर भई वडा नम्बर २ बस्ने २३ वर्षीय विनोद राउत, प्र.२–०३–००१ च ३६३८ नम्बरको योद्धा पिकअपका चालक बारा करहिया गाउँपालिका–८ का २४ वर्षीय सुनिल यादव रहेका छन्।
त्यस्तै, ना.१ ज २१६७ नम्बरको सुमोका चालक बारा सिम्रौनगढ नगरपालिका–६ का २७ वर्षीय विशाल साह र बा.प्र.०१–०२६ च ५५७१ नम्बरको योद्धा पिकअपका चालक रौतहट गुजरा नगरपालिका–१ का २५ वर्षीय निरे चौधरीको परीक्षण पनि पोजेटिभ आएको प्रहरीले जनाएको छ।
पोजेटिभ देखिएका सबै चालकलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरतर्फ पठाइएको जनाइएको छ। सवारी चालकले लागुऔषध सेवन गरी सवारी चलाउँदा दुर्घटनाको जोखिम बढ्ने भएकाले यस्ता परीक्षणलाई निरन्तरता दिइनुपर्ने सुरक्षा निकायको भनाइ छ।
नियमित स्वास्थ्य परीक्षण तथा लागुऔषध सेवन जाँचले चालकको स्वास्थ्य अवस्था पहिचानसँगै सम्भावित सवारी दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।














