हेटौंडा, असोज २४ गते । मकवानपुरको थाहा नगरपालिका–१ बाराहीचौरमा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ।
मृत्यु हुनेमा थाहा नगरपालिका–१ बाराहीचौर निवासी अन्दाजी ३० वर्षीय उत्सव गोपाली रहेका छन्।
प्राप्त विवरणअनुसार, मिति २०८३ असोज २३ गते साँझ करिब ७ बजे गोपाली आफ्नो घरबाट करिब ५०० मिटर पूर्वतर्फ रहेको सार्वजनिक चौरमा भएको उत्तिसको रुखमा अरिङ्गाल पोल्ने क्रममा अन्दाजी २० फिट तल खसेका थिए। रुखबाट खसेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टर लगिएको थियो।
ट्रमा सेन्टरमा उपचारका क्रममा उनको टाउकोमा भित्री चोट लागेको र दुवै कानबाट रगत बगिरहेको पाइएको थियो। अवस्था गम्भीर रहेका उनी बोल्नसमेत नसक्ने अवस्थामा रहेको बताइएको छ। थप उपचारका लागि उनलाई ललितपुरस्थित पाटन अस्पताल पठाइएको थियो।
उक्त घटनाबारे असोज २३ गते राति करिब ११ः२५ बजे ट्रमा सेन्टरमा खटिएका प्रहरी कर्मचारीमार्फत जानकारी प्राप्त भएपछि घटनाको वास्तविकता बुझ्न इलाका प्रहरी कार्यालय पालुङ, मकवानपुरबाट प्रहरी टोली खटिएको थियो।
यसैबीच, असोज २४ गते बिहान करिब ३ः३० बजे उपचारकै क्रममा उत्सव गोपालीको मृत्यु भएको जानकारी बिहान ७ बजे पाटन अस्पताल, ललितपुरबाट प्राप्त भएको जनाइएको छ।
घाइते गोपालीको उपचारमा उनकी श्रीमती र मामा संलग्न रहेका थिए।














