काठमाडौँ,जेठ ४ गते । आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत जारी त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा नेपालले उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिँदै स्कटल्यान्डलाई पराजित गरेको छ। अघिल्लो खेलमा दुई रनले पराजित भएको नेपालले त्यसको बदला लिँदै शानदार जित दर्ता गरेको हो। यस जितसँगै नेपाली क्रिकेट टोलीले अंक तालिकामा महत्वपूर्ण फड्को समेत मारेको छ।
नेपालको जितसँगै लेग स्पिनर सन्दीप लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नयाँ विश्वकीर्तिमान कायम गरेका छन्। उनले केवल ७३ खेलमै १५० विकेट पूरा गर्दै अस्ट्रेलियाका स्टार तीव्र गतिका बलर मिचेल स्टार्कको पुरानो कीर्तिमान तोडे। यसअघि स्टार्कले ७७ खेलमा १५० विकेट पूरा गरेका थिए। स्कटल्यान्डविरुद्ध खेलमा दोस्रो विकेट लिने क्रममा सन्दीपले उक्त उपलब्धि हासिल गरेका हुन्। उनले खेलमा कुल तीन विकेट लिए।
स्कटल्यान्डले दिएको १९५ रनको लक्ष्य नेपालले ३८.१ ओभरमा मात्र चार विकेट गुमाएर पूरा गर्यो। नेपालको जितमा कप्तान रोहित पौडेल र युवा ब्याटर ईशान पाण्डे बीचको १०४ रनको उत्कृष्ट साझेदारी निर्णायक बन्यो। कप्तान रोहित ७४ रनमा अविजित रहे भने ईशानले ५५ रनको महत्वपूर्ण योगदान दिए। त्यसअघि आसिफ शेखले २९ तथा कुशल भुर्तेलले २८ रन जोडेका थिए।
स्कटल्यान्डका लागि मार्क वाटले दुई विकेट लिए भने ब्रेन्डन म्याकमुलेनले एक विकेट हात पारे।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्यान्ड ३९.१ ओभरमा १९४ रनमै अलआउट भएको थियो। उसका लागि ब्रेन्डन म्याकमुलेनले सर्वाधिक ७७ रन बनाए भने माइकल इङ्लिसले ५१ रनको योगदान दिए। जर्ज मुन्सीले २१ तथा मार्क वाटले २० रन बनाए पनि अन्य ब्याट्सम्यानले उल्लेखनीय प्रदर्शन गर्न सकेनन्।
नेपालका स्पिनर ललित राजवंशीले घातक बलिङ गर्दै चार विकेट लिए। सन्दीप लामिछानेले तीन विकेट लिए भने नन्दन यादव, दीपेन्द्र सिंह ऐरी र सोमपाल कामीले समान एक–एक विकेट लिए।
यस जितसँगै नेपाल लिग–२ अंक तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ। नेपालले २७ खेलबाट २२ अंक बनाएको छ। शीर्ष स्थानमा रहेको स्कटल्यान्डको ३१ खेलबाट ३८ अंक रहेको छ। अमेरिका ३६ अंकसहित दोस्रो, ओमान ३१ अंकसहित तेस्रो तथा नेदरल्याण्ड्स २८ अंकसहित चौथो स्थानमा रहेका छन्।














