राक्सिराङ । जंगलबाट लागेको आगोले मकवानपुरको राक्सिराङ गाउँपालिकाका तीन वटा वडामा तीन घर पूर्णरूपमा जलेर नष्ट भएका छन् । शुक्रबार हुरिबताससँगै फैलिएको आगोका झिल्का घरमा सल्किँदा तीन घर जलेर पूर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
राक्सिराङ गाउँपालिका-७ स्थित चरिमारामा जँगलनजिकै रहेको सुब्बा प्रजा र चन्द्र प्रजाको खरले छाएको काठको कच्ची घरमा आगो सल्किँदा लत्ता कपडा, भाँडावर्तन, अन्नपात र नगदसहित घर पूर्णरूपमा जलेर नष्ट भएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) श्यामु अर्यालले जानकारी दिएका छन् । सुब्बा प्रजाको घरमा नगद रु. २० हजारसहित कुल १ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ भने चन्द्र प्रजाको घरमा पनि सामान सहित सोही बराबरको क्षति भएको डिएसपी अर्यालले बताए ।
त्यसैगरी, राक्सिराङ गाउँपालिका-४ तार्सिकोटमा बस्ने रामबहादुर थिङको घरमा पनि जंगलको आगोले क्षति पुर्याएको छ । घरभित्र रहेको मकै, कोदो, चामल, लत्ताकपडा, भाँडाकुँडा र सोलार प्यानल जलेर पूर्णरूपमा नष्ट भएको छ भने उक्त घटनाबाट अनुमानित १ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको बताइएको छ ।
यस्तै, राक्सिारङ गाउँपालिका-५ चंगरङमा रोशन प्रजाको काठको कच्ची घरमा आगो सल्किएको हो । आगालागीबाट घरभित्र रहेको अन्नपात, लत्ताकपडा, भाँडाकुँडा र काठपात नष्ट हुँदा करीब २ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
तीनवटै घटनामा मानवीय वा चौपाया क्षति नभएको प्रहरीले जनाएको छ । सबै स्थानमा स्थानीयको सक्रिय सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । प्रहरीका अनुसार यी घटनाहरू क्रमशः प्रहरी चौकी कान्द्राङ, गिंगु र चैनपुरबाट ६ देखि ३० किलोमिटरको दूरीमा पर्दछन् ।
प्रहरी र स्थानीय बासिन्दाले जंगलमा आगो फैलिन नदिन सावधानी अपनाउन र सचेत रहन आग्रह गरेका छन् ।














