हेटौंडा, भदौ २९ गते । हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मिना कुमारि लामाले हालै Gen-Z आन्दोलनका क्रममा नगरपालिकाको परिषरमा आएका विद्यार्थी भाइबहिनीहरूसँग उत्पन्न भएको परिस्थितिप्रति खेद व्यक्त गर्दै सार्वजनिक माफी मागेकी छिन्।

नगर प्रमुख लामाले आफूले कहिल्यै पनि विद्यार्थीहरूको आवाजलाई बेवास्ता गर्ने वा उपेक्षा गर्ने उद्देश्य राखेको नभई असमझदारीका कारण अपमानित महसुस हुने स्थिति सिर्जना भएको बताएर पछुतो व्यक्त गरेकी छिन्। उनले आफ्नो भनाइ वा व्यवहारका कारण कुनै विद्यार्थीको मन दुखेको भए त्यसलाई सच्चाउने दृढता व्यक्त गर्दै सबै विद्यार्थी र आम नगरवासीसँग क्षमा याचना गरेकी छिन्।
उनले आन्दोलनमा संलग्न विद्यार्थीहरूको माग सम्बोधनका लागि नगरपालिकाको तर्फबाट सकारात्मक पहल गर्ने प्रतिबद्धता समेत जनाइन्। साथै, आगामी दिनमा विद्यार्थीहरूको आवाजलाई प्राथमिकतामा राखेर समस्या समाधान गर्न आफू सदैव तत्पर रहने स्पष्ट पारिन्।
नगर प्रमुख लामाले सामाजिक सञ्जालमा समेत माफी माग्दै आफूले गल्तीबाट सिकेर विद्यार्थीहरूसँग सहकार्य गर्ने आशय प्रकट गरेकी छिन्।














