मकवानपुर, मंसिर १० गते । मकवानपुर जेन–जी समूहले आज औपचारिक रूपमा आफ्नो संगठन विस्तार गर्दै ४० सदस्यीय टोली घोषणा गरेको छ। भदौ २३ र २४ गतेदेखि देशभर फैलिएर आएको जेन–जी आन्दोलनमा सक्रिय रूपमा अन्याय, भ्रष्टाचार र विविध सामाजिक विकृति–विसंगति विरुद्ध लागिरहेकाहरुको समन्वय गर्ने उद्देश्यले समूहलाई संस्थागत रूप दिन खोजिएको बताइएको छ।

केन्द्रीय जेन–जी अभियान्ता मिराज ढुङ्गानासँग प्रत्यक्ष संवादपछि आधिकारिकता प्राप्त गर्दै मकवानपुरे जेन–जी समूह औपचारिक रूपमा गठन भएको हो। समूहको संयोजकमा सितोरियो संघ नेपालका राष्ट्रिय खेलाडी तथा पदमपोखरी–१२ निवासी सुबिन खत्री चयन भएका छन्।

त्यस्तै, सचिवमा नवीन रावत, कोषाध्यक्षमा सुजन दाहाल र अन्य ३७ जना सदस्यसमेत समावेश गर्दै संगठनलाई ४० जनाको प्रारम्भिक संरचनामा विस्तार गरिएको समूहले जनाएको छ।

नेतृत्वहरूले देशमा मौजुदा विकृति–विसंगति, अत्याचार तथा दुरुपयोगविरुद्ध संस्थागत ढङ्गबाट प्रभावकारी आवाज उठाउँदै सकारात्मक परिवर्तनका लागि सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन्।















