हेटौंडा, पुस ६ गते । जेन जि मकवानपुर परिषद्ले भोलि मिति पौष ७ गते जिल्लाका विभिन्न स्थानमा आयोजना हुन सक्ने कुनै पनि प्रकारका विरोध प्रदर्शन तथा गतिविधिमा सहभागी नहुन सम्पूर्ण जेन जि साथीहरूलाई सार्वजनिक अपिल गरेको छ।

भदौ २३ र २४ गते सम्पन्न जेन जि आन्दोलन पश्चात् जिल्ला स्तरका जेन जि प्रतिनिधिहरूको सहभागितामा चयन गरिएको जेन जि समिति मकवानपुर नै जिल्लामा आधिकारिक रूपमा गठित र मान्य संस्था रहेको विषय यथावत रहेको स्पष्ट पार्दै परिषद्ले उक्त अपिल जारी गरेको हो।
अपिलमा भनिएको छ, वर्तमान राष्ट्रिय परिवेशमा देशको प्रमुख आवश्यकता भनेको तोकिएको समयमै निर्वाचन सम्पन्न गर्नु, जेन जि आन्दोलनलाई संस्थागत, अनुशासित तथा दीर्घकालीन दिशामा अघि बढाउनुका साथै राष्ट्रलाई स्थायित्व, सुशासन र लोकतान्त्रिक मूल्य–मान्यतासहितको मार्गतर्फ उन्मुख गराउनु हो।
केही व्यक्तिहरू आफूलाई जेन जि आन्दोलनका अगुवा भन्दै पूर्वग्राही सोच र अस्थिरता सिर्जना गर्ने गतिविधिमा संलग्न भएको देखिनु दुःखद विषय रहेको उल्लेख गर्दै यस्ता गतिविधिले मुलुकलाई अनावश्यक द्वन्दतर्फ धकेल्ने, लोकतान्त्रिक अभ्यास, सामाजिक सद्भाव तथा सहिदहरूको बलिदानको मूल्यमा गम्भीर असर पार्ने जोखिम रहेको परिषद्को ठहर छ।
यसै सन्दर्भमा जेन जि मकवानपुरले सम्पूर्ण शान्तिप्रेमी जेन जि साथीहरूलाई संयमित रहन, उत्तेजनात्मक गतिविधिबाट टाढा रहन तथा कुनै पनि प्रकारको हिंसा, द्वन्द्व वा रगत बग्ने अवस्था सिर्जना नहोस् भन्ने विषयमा उच्च सतर्कता अपनाउन सादर आह्वान गरेको छ।
परिषद्का अनुसार जेन जि मकवानपुर भ्रष्टाचारविरुद्धको संगठित, सचेत र शान्तिपूर्ण सङ्घर्षलाई नै आन्दोलनको मूल मार्ग मान्दछ र यही मार्गबाट मात्र देशलाई सकारात्मक परिवर्तन र नयाँ दिशातर्फ अघि बढाउन सकिने दृढ विश्वास राख्दछ।
यस संवेदनशील समयमा विवेक, धैर्य र एकताको अभ्यास गर्दै जिम्मेवार नागरिकको भूमिकामा उभिन सम्पूर्ण जेन्जी साथीहरूलाई पुनः अनुरोध गरिएको छ।
सार्वजनिक अपिल जेन जि मकवानपुरका संयोजक सुगम नेगीले जारी गर्नुभएको हो।














