हेटौंडा,असार ३ गते। नयाँ सरकार गठन भएसँगै लामो समयदेखि बन्द अवस्थामा रहेको हेटौडा कपडा उद्योग पुनः सञ्चालनमा ल्याउने तयारी तीव्र बनाइएको छ। उद्योग पुनः सञ्चालनको प्रक्रिया अगाडि बढेसँगै उद्योग परिसरमा सरसफाइ तथा व्यवस्थापनका कामहरू तीव्र रूपमा सञ्चालन भइरहेका छन्।

उद्योग पुनः सञ्चालनमा आएपछि स्थानीयस्तरमा रोजगारीका अवसर सिर्जना हुनुका साथै देशको आर्थिक गतिविधिमा समेत सकारात्मक टेवा पुग्ने अपेक्षा गरिएको छ। विशेषगरी युवा जनशक्तिले रोजगार प्राप्त गर्ने सम्भावना बढ्ने भन्दै स्थानीयवासी उत्साहित बनेका छन्।

हेटौडा उपमहानगरपालिका भित्र रहेको यस उद्योग सञ्चालनमा आएपछि प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा वडा तथा आसपासका क्षेत्रका नागरिकले लाभ प्राप्त गर्ने अपेक्षा गरिएको छ।

बन्द अवस्थामा रहेका उद्योगधन्दाको वस्तुस्थिति बुझ्ने क्रममा नगरप्रमुख मिना कुमारी लामा, जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी तथा विभिन्न विषयगत कार्यालयका प्रमुख एवं प्रतिनिधिहरूले उद्योगको निरीक्षण तथा अवलोकन गरेका थिए।

स्थानीयवासीहरूले उद्योग पुनः सञ्चालनको पहललाई सकारात्मक कदमको रूपमा लिँदै यसले हेटौडाको आर्थिक तथा औद्योगिक विकासमा नयाँ ऊर्जा थप्ने विश्वास व्यक्त गरेका छन्।















