काठमाडौँ, साउन १२ गते । प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीमा भएको हिंसात्मक घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। उनले घटनामा घाइते भएका नागरिकहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै पीडित परिवारलाई न्याय दिलाउन सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।
सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको वक्तव्यमा प्रधानमन्त्री शाहले आफू प्रधानमन्त्रीका रूपमा मात्र नभई यसै देशका एक नागरिकका रूपमा पनि सुनसरीका घटनाक्रमबाट अत्यन्त दुःखी भएको उल्लेख गरेका छन्। उनले घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको उपचार र प्रभावित परिवारलाई आवश्यक क्षतिपूर्ति उपलब्ध गराइने बताएका छन्।
प्रधानमन्त्री शाहले घटनामा सुरक्षाकर्मीको गोलीबाट नागरिकको ज्यान जानु तथा अन्य नागरिक घाइते हुनु कुनै पनि अवस्थामा सामान्य विषय नभएको स्पष्ट पारेका छन्। यस घटनाबारे अनुसन्धान सुरु भइसकेको जानकारी दिँदै दोषी जोसुकै भए पनि कानुनबमोजिम कारबाही गरिने विश्वास व्यक्त गरेका छन्।
उनले सरकारले घटनाको सुरुवातदेखि नै आवश्यक उपस्थिति जनाएको भए पनि त्यो पर्याप्त हुन नसकेको स्वीकार गर्दै सम्पूर्ण घटनाको गम्भीर समीक्षा भइरहेको बताएका छन्। भविष्यमा यस्ता घटना दोहोरिन नदिन सरकारले आवश्यक नीतिगत तथा व्यवहारिक निर्णयहरू तत्काल अघि बढाइरहेको पनि उनले उल्लेख गरेका छन्।
प्रधानमन्त्री शाहले मृतकका परिवार, घाइते तथा उनीहरूका आफन्तलाई न्यायको अनुभूति गराउन सरकारले आफ्नो सम्पूर्ण शक्ति प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै, अनुसन्धान प्रक्रिया सम्पन्न नहुँदासम्म नागरिकलाई संयमित रहन, रिस, आक्रोश र बदलाको भावना त्याग्न तथा कुनै पनि प्रकारका उत्तेजनात्मक गतिविधिमा संलग्न नहुन आग्रह गरेका छन्।
उनले सामाजिक सद्भाव, आपसी प्रेम र सम्मान कायम राख्न सबै नागरिकलाई अपिल गर्दै मानव जीवनको रक्षा नै सबैभन्दा ठूलो धर्म भएको उल्लेख गरेका छन्। सरकारको पहिलो दायित्व नागरिकको सुरक्षा सुनिश्चित गर्नु, दोषीलाई कानुनी दायरामा ल्याउनु र पीडितलाई न्याय तथा क्षतिपूर्ति उपलब्ध गराउनु रहेको दोहोर्याउँदै प्रधानमन्त्री शाहले उक्त दायित्व पूरा गर्न सरकार दृढतापूर्वक अघि बढ्ने बताएका छन्।














