मनहरी, साउन २१ गते । मकवानपुरको कैलाश गाउँपालिका–४ सिसौटारमा मनहरी खोला तर्ने क्रममा एक चेपाङ युवा बेपत्ता भएका छन्। उनको खोजी तथा उद्धारका लागि नेपाल प्रहरी र स्थानीयवासीको संयुक्त टोली परिचालन गरिएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार साउन २० गते राति करिब ११ बजे कैलाश गाउँपालिका–४ सिसैटा निवासी २५ वर्षीय प्रकाश तामाङ र ३२ वर्षीय अशोक प्रजा कालिकाटारबाट देउतीसस्थित आफ्नै घर फर्किरहेका थिए। घर फर्कने क्रममा उनीहरू मनहरी खोला तर्दै गर्दा खोलाको तीव्र बहावमा परेका थिए।
घटनामा प्रकाश तामाङ भने सकुशल खोलाबाट बाहिर निस्कन सफल भएका छन्। तर अशोक प्रजालाई खोलाले बगाएपछि उनी बेपत्ता भएका प्रहरीले जनाएको छ।
घटनाबारे साउन २१ गते बिहान करिब ९:१५ बजे प्रहरी चौकी भार्ता, मकवानपुरमा सूचना प्राप्त भएपछि प्रहरी चौकी भार्ता, प्रहरी चौकी चैनपुर तथा इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी टोली तत्काल घटनास्थलतर्फ परिचालन गरिएको थियो।
प्रहरीले स्थानीयवासीसँग समन्वय गरी बेपत्ता अशोक प्रजाको खोजी तथा उद्धार कार्य तीव्र रूपमा सञ्चालन गरिरहेको जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।













