हेटौंडा, साउन ५ गते । मकवानपुर प्रहरीले हेटौंडा औद्योगिक क्षेत्रस्थित पार्लेजी बिस्कुट फ्याक्ट्रीमा जागिर लगाइदिने प्रलोभन देखाएर २०० भन्दा बढी व्यक्तिबाट रकम असुली गरेको आरोपमा एक जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।
पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–६ निवासी २४ वर्षीय रबिन गौतम रहेका छन्।
प्रहरीका अनुसार पार्लेजी बिस्कुट फ्याक्ट्रीमा जागिर लगाइदिने भन्दै जनही ३ हजार रुपैयाँका दरले विभिन्न व्यक्तिबाट रकम उठाएर पनि जागिर नदिएको भन्ने उजुरीका आधारमा गौतमलाई नियन्त्रणमा लिइएको हो।
प्रारम्भिक अनुसन्धानका क्रममा गौतमले २०० भन्दा बढी व्यक्तिलाई जागिरको प्रलोभन देखाई रकम असुली गरेको खुलेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धानका लागि मकवानपुर जिल्ला अदालत, हेटौंडाबाट ठगी सम्बन्धी कसुरमा म्याद अनुमति लिई अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।














